काठमाडौं । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोलि नेपाल पुलिस क्लबले जितेको छ । बिहीबार विरगंगमा भएको खेलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मीलाई पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।
पुलिसले दिएको १ सय ३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी ७४ रनमा अल आउट भयो । आर्मीका लागि इम्रान शेखले सर्वाधिक २८ रन जोडे । कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन जोडे । आर्मीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् । पुलिसका लागि सागर ढकालले ६ तथा ललितनारायण राजवंशीले ४ विकेट लिए ।
पुलिसले दोस्रो पारीमा १ सय ३९ रन मात्र जोड्न सक्यो । पुलिसका लागि दोस्रो पारीमा कुशल भुर्तेलले सर्वाधिक ४५ रन जोडे । पहिलो विकेटका लागि ओपनर कुशल र अमित श्रेष्ठले ५१ रनको साझेदारी गर्दै फराकिलो अग्रताको संकेत गरेका थिए । अमित १३ रन जोडे । दीलिप नाथ ३४ तथा राशिद खान १८ रन बनाए ।
पुलिसका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका लागि बसिर अहमद र साहब आलमले समान ५ विकेट लिए । आर्मीले पहिलो पारीमा १ सय ७० रन बनाउँद ३७ रनको अग्रता लिएको थियो । आर्मीका लागि भीम सार्कीले सर्वाधिक ५८ रन जोडे । त्यस्तै बसिर अहमद ४०, सोमपाल कामी ३२ तथा कप्तान विनोद भण्डारी १४ रन बनाए । पहिलो पारीमा पुलिसका लागि सागर ढकालले ५ विकेट लिए । कुशल भुर्तेलले ३ तथा ललित र गुलशन झाले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ९ विकेट गुमाएर १ सय ३३ रन जोडेको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशलले सर्वाधिक ५१ रन जोडे । त्यस्तै अर्जुन साउद २८, अमित २० र राशिद १० रन बनाए । आर्मीका साहब आलमले एक्लैले ७ विकेट लिएका थिए । सोमपाल र बसिर अहमदले समान १ विकेट लिएका थिए । पहिलो संस्करणको यस प्रतियोगितामा पिएम कप पुरुष क्रिकेटका शीर्ष ४ टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मधेश प्रदेश र बागमती प्रदेश) को सहभागीता रहेको थियो ।