काठमाडौं । एक साताभित्र खुम्बु क्षेत्रमा हेलिकप्टर उडान खुला नभए सोलुखुम्बुमा हुने सबै हवाई उडान ठप्प पार्ने चेतावनी वायुसेवा सञ्चालक संघले दिएको छ । संघले आगामी ९ पुसभित्र हाल हेलिकप्टर उडानमा भएको समस्या समाधान गर्ने अल्टिमेटसहितको चेतावनी दिएको हो ।
आज विज्ञप्ति जारी गर्दै संघले एक हप्तामा हेलिकप्टर उडानमा लगाएको प्रतिवन्ध नहटाए उडान रोक्ने चेतावनी दिएको हो । वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा यस्तो चेतावनी दिइएको छ ‘जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आगामी माघ ११ गते सरोकारवालाहरु बीच समन्वय बैठक आव्हान गरेको छ । सो अगावै माघ ९ गतेभित्रै हेलिकप्टर उडानको पूर्ण सुरक्षाको प्रत्याभूति गरी समस्या समाधान गर्नको लागि अनुरोध गरिएको छ ।
सो समयभित्र समस्या समाधान नभएमा सोलुखुम्बु जिल्ला भित्र उडान गर्ने स्टल सदस्य वायुसेवा कम्पनीहरुले समेत सम्पूर्ण हवाई सेवाहरु पूर्ण रुपमा स्थगन गर्नु पर्ने अवस्था सृजना हुन सक्ने व्यहोरा सबै पक्षहरुलाई जानकारी गराउदछौ,’ विज्ञप्तिमा भनिएको छ ।
हाल छोटो दूरीको उडान अवतरण गर्ने वायुसेवा (स्टल) उडानको रुपमा लुक्ला र फाप्लुमा नियमित उडान हुने गरेको छ । यी उडान स्थगित गर्ने चेतावनीसहित वायुसेवा संघले हेलिकप्टर उडानमा देखिएको समस्याको समाधान गर्न आग्रह गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिका लगायत अन्य स्थानिय युवा समूह तथा संघ संस्थाहरुले निकुञ्जको बफर जोन क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै यही मिति २०२५ जनावरी १ देखि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।
नेपालमा हवाई सेवा नियमन गर्ने निकायले हवाई सेवा रोक्न नपर्ने लिखित निर्देशन दिदा समेत सो सम्बन्धमा उक्त निकायसंग संघका पदाधिकारीहरुले पटक पटक वार्ता गर्दा पनि कुनै निक्यौलमा पुग्न नसकेको र हाल खुम्बु क्षेत्रका हेलिप्याडहरुमा ध्वजापतका झण्डा गाडी अवरोध सृजना गरिएको संघको भनाइ छ ।
हेलिकप्टरको आपत्कालिन अवतरण गर्नुपर्ने अवस्था सृजना भएको खण्डमा समेत अवतरण गर्न सक्ने अवस्था हाल स्थानीय निकायलकै सक्रियताले भएको पनि संघको भनाइ छ । स्थानीयहरुले सदस्य वायुसेवा कम्पनीहरुका जहाजहरु अवतरण गरेको खण्डमा चालक दलका सदस्यलाई समाति कारबाही गर्ने भन्ने जस्ता अभिव्यक्तिहरु स्थानीय क्लब, युवा समूहलगायत सरोकारवाला निकायहरुले विभिन्न संचार माध्यमहरुमा व्यक्त गर्ने जस्ता कार्य गरेको हुनाले हेलिकप्टर उडान सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म सो क्षेत्रका सम्पूर्ण उडानहरु मिति २०८१ पुस २१ गते देखि सम्पूर्ण हेलिकप्टरको उडान स्थगित छ ।
यो विषयमा संघले पुस २१ र २२ गते नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेतलाई जानकारी समेत गराएको थियो ।
यो विषयमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले मिति २०८१ पुस २२ गते हेलिकप्टर उडानमा वाधा अवरोध गर्नेलाई प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने भनी तथा सगरमाथा राष्ट्रिय निकुञ्जले सेवा उपलब्ध गराई रहेका निजी हेलिकप्टर कम्पनीहरुलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी निकुञ्जलाई निमयमानुसार तोकिएको राजस्व बुझाई कानुन अनुसार सुरक्षित तवरले हेलिकप्टरको उडान अवतरण र होभरिङ्ग गर्न गराउन हामी हेलिकप्टर कम्पनीलाई अनुरोध भएको थियो । तर हालसम्म विभिन्न हेलिप्याडमा अवरोध कायमनै रहेको पनि छ ।
सगरमाथा राष्ट्रिय निकुञ्जले मिति पुस २१ गते यस राष्ट्रिय निकुञ्ज युनेस्कोको नेचुरल वल्र्ड हेरिटेज साइटमा सुचिकृत रहेकोले विश्व भरिबाट वर्षेनी हजारौ पर्यटकहरु यस निकुञ्जको भ्रमणमा आउने गरेको हुदाँ यसबाट आर्थिक रुपमा राष्ट्रिय तथा स्थानीय अर्थतन्त्र र रोजगारीमा ठुलो टेवा पुगेको, विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमाल, ताल तलयिया तथा प्राकृतिक सुन्दरताको महत्व बढेको, स्थानीय बिमारीको उद्धार गर्न, विकास निर्माण, खाद्य तथा अन्य सामाग्रीहरु ढुवानी गर्ने लगायतका सेवाहरु उपलब्ध गराई रहेका निजी हेलिकप्टर कम्पनीहरुलाई निकुञ्जको विविधतामा कुनै किसिमको वाधा तथा असर नपुग्ने गरी अनुमति लिएर नियमानुसार तोकिएको राजस्व बुझाई प्रचलित कानुनको अधिनमा रही हेलिकप्टरका सेवाहरु संचालन गर्न अनुरोध गरिएको पनि वायुेवा सञ्चालक संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवा नेपालको संविधानको अनूसुचि ५ बमोजिम संघिय सरकार एकल अधिकार भित्र रहेको गैर सैनिक हवाई उड्डयन ऐन, २०१५, नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ र सो कानुन अन्तर्गतका नियमावली अनुसार प्राधिकरण अधिकार क्षेत्र भित्र रहेको, राष्ट्रि निकुञ्ज तथा बन्य जन्तु संरक्षण ऐन, २०२९, हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६ समेतका कानुनले स्थानीय तहलाई सेवामा अवरोध गर्ने अधिकार नभएकोले निरन्तर उडान सञ्चालन गर्न गराउन विशेष अनुरोध गरेको थियो ।
राष्ट्रिय निकुञ्ज नेपाल नागरिक उड्डयन प्राधिकरण र यस संघको अनुरोध समेतलाई हवाई सेवा संचालनको सम्बन्धमा कानुनले प्रत्यायोजन नगरेको अवस्थामा गाउँपालिकाले प्रचलित कानुनको उल्लघंन गरी हेलिकप्टर सेवा संचालन माथि गरेको मिति पुस २५ गतेको जारी गरेको विज्ञप्ति प्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
हेलिकप्टर उडानमा लगाएको प्रतिबन्धले वायुसेवा संचालन कम्पनीहरुलाई ठूलो आर्थिक नोक्सानी पर्न जानुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक असर पर्न जाने, हिमाल अवलोकन तथा पर्वतारोहणका लागि नेपाल आउने लगायतका पर्यटकहरुले आफ्नो गन्तव्य परिवर्तन गरी अन्य मुलुक तर्फ जाने भएको हुदाँ कोभिड महामारी पछि आफ्नो लयमा फर्कन संघर्षरत पर्यटन व्यवसाय नै धारासायी हुनुका साथै राष्ट्रको विदेशी मुद्रा आर्जन तथा राजश्वमा समेत असर पर्ने भएकोले उक्त क्षेत्रको उडानहरु निर्वाद रुपमा संचालन गर्न अत्यावश्यक रहेको व्यहोरा सबैलाई जानकारी गराएको पनि संघको भनाइ छ ।
वायुसेवा कम्पनीको पेसा व्यवसाय गर्न पाउने संविधान प्रद्धत मौलिक हकलाई नियन्त्रण गर्ने अधिकार गाउँपालिका लगायत कोही कसैलाई नभएको स्पष्ट पार्न पारेको छ । ‘हाम्रो सेवाहरुलाई निरन्तरता दिदै खुम्बु पासाङ ल्हामु गाउँपालिका र अन्य सम्बद्ध पक्षसग सर्वपक्षीय छलफल, संवाद, समन्वय र सहकार्य गरी समस्याको समाधान गर्न हामी प्रतिवद्ध छौ,’ संघले भनेको छ ।
गाउँपालिकाको कार्यालयसमेतले यस क्षेत्रमा हामीहरुले निरन्तर रुपमा गरी रहेको योगदानको अवमुल्यन गरिएको र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले समेत सरोकारवालाहरुबीच समन्वय बैठक आव्हान गरेको छ । उक्त बैठक अगाडि नै हेलिकप्ट उडानको वातावरण मिलाउन संघले आग्रह गरेको छ ।