९ रुपैयाँको नुन किन्न २५ सय खर्च, दोब्बर मूल्य हाले खुद्रा पसलमा तुरुन्तै

सिमकोट । सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने ९ रुपैयाँको नुनलाई उनीहरुले २ हजार पाँच सय रुपैयाँसम्म खर्च गरिरहेका छन् ।

नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महङ्गो गाडी भाडा तिरेर उनीहरु नुन किन्न जानु परेको छ। नुन लिन जाँदा र घर फर्कन मात्रै उक्त रकम खर्च हुने गरेको स्थानीय रामशरण रावतले बताए । केही दिनअघि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने नुन खरिद गर्न सर्केगाडस्थित डिपोमा ठूलो खर्च भएको उनले बताए । उनले भने, ‘गाउँभन्दा पालिका केन्द्र टाढा छ । अनुदानमा रु नौ पर्ने नुन लिन जान रु पच्चीस सय खर्च लाग्छ ।’

एक दिनको पैदलयात्रामा पुगिने ठाउँमा गाडीमा आवतजावत गर्दा २५ सय रुपैयाँ लाग्ने गरेको रतन रावतले बताए । साल्ट ट्रेडिङको सर्केगाड बजारमा रहेकाले डिपो केन्द्रमार्फत मात्र बिक्री गर्दा तुम्चका ९५ घरधुरीलाई समस्या हुने गरेको रावतको भनाइ छ ।

गाउँपालिका केन्द्र टाढा रहेकाले गाउँपालिकाबाट पाउने अन्य सेवा सुविधाबाट समेत बञ्चित भइ वडा कार्यालय जान समेत तीन घण्टा पैदल हिँड्नु पर्ने बाध्याता रहेको रावतले सुनाए । वडा कार्यालय जैरमा भएकाले तीन घण्टाको उकालो हिँडेर विभिन्न सिफारिस लिनुपर्ने अवस्था छ ।

तुम्च गाउँका नागरीकले नुन सर्केगाड नपुर्याइ बालुकुना क्षेत्रबाट वितरण गर्दा आफूहरुलाई सहज र खर्च पनि बच्ने उनीहरुको भनाइ छ । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा हुम्लाका प्रमुख राजबहादुर लामा भने दक्षिण भेगका चारवटा गाउँपालिकाका लागि सहज पहुँच पुग्ने गरी बिक्री केन्द्रबाट वितरण हुँदै आएको बताए ।

एक दुई पटक यहाँका नागरिकको समस्यालाई हेरी तुम्चका लागि बालुकुना मै वितरण भएको उनको भनाइ छ । अहिले चंखेली र सर्केगाडका लागि सर्केगाड बिक्री केन्द्र र अदानचुली र ताँजकोटका लागि अदानचुलीको श्रीनगरसम्म पुर्याउने सम्झौता भएको लामाले बताए।

ती चारवटा गाउँपालिकाका लागि चालु आर्थिक वर्षमा १८ सय क्विइन्टल नुन पुर्याइनेछ । सर्केगाडका लागि पाँच सय, चंखेली चार सय, अदानचुली पाँचसय, ताँजकोट गाउँपालिकाका लागि चारसय क्विइन्टल नुन ढुवानी हुने भएको छ । अहिले दक्षिण भेगमा नुन ढुवानी भइरहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार