रसुवाघाट–पाँचधारे सडकमा कालोपत्र थालियो

खोटाङ । रसुवाघाट–पाँचधारे सडकको रसुवाघाटदेखि सिम्पानीसम्मको १५ किलोमिटर सडकमा कालोपत्रको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ४६ करोड ७६ लाख रुपैयाँको लागतमा सडक कालोपत्र थालिएको हो ।

खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेस्थित रसुवाघाटबाट सिम्पानी–रोक्सिङभञ्ज्याङ हुँदै भोजपुरको पाँचधारे जोड्ने सडकमा सुरु गरिएको कालोपत्रको काम कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गरे । मन्त्री राईले सम्झौताको समयभित्र रसुवाघाट–पाँचधार सडकको १५ किलोमिटर सडक कालोपत्र गरिसक्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

लामो समयदेखि कच्ची अवस्थामा सञ्चालन हुँदै आएको उक्त सडकको रसुवाबाट सिम्पानीसम्मको १५ किलोमिटर सडक कालोपत्र हुनेछ । कालोपत्रे थालिएको सडकको दुवैतर्फ एक मिटर सोल्जर तथा एक मिटर दश सेन्टीमिटरको नाली रहने पूर्वाधार विकास कार्यालय उदयपुरले जनाएको छ । याक्थुम्हाङ/रेग्मी/चुरिया जेभी निर्माण कम्पनीले उक्त सडक कालोपत्रको जिम्मा लिएको हो ।

विसं २०८१ साउनमा सम्झौता भएको सडक कालोपत्रको ठेक्काको म्याद ३६ महिना अर्थात् २०८४ साउन ६ गतेसम्म रहनेछ । सम्झौताको समयमै काम सम्पन्न गरेर सडक हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ । समयमै काम सम्पन्न भए खोटाङ जिल्लाभित्र पर्ने मध्यपहाडी लोकमार्गबाहेक कालोपत्र हुने पहिलो जिल्लाको सडक रसुवाघाट–सिम्पानी सडक बन्नेछ । ‘ट्र्याक ओपन’ भएको लामो समयसम्म बर्सादमा हिलाम्मे र हिउँदमा धुलाम्मे रहने रसुवाघाट–पाँचधारे सडक अबको ३६ महिनाभित्र कालोपत्र हुने बताइन्छ ।

रसुवाघाट–पाँचधारे सडक कालोपत्र सम्पन्न भएपछि खोटेहाङ गाउँपालिकासँगै जिल्लाको दक्षिणी क्षेत्रका स्थानीय नागरिकलाई पूर्वी तराईका जिल्ला आवतजावतमा सहज हुनेछ । हिलो र धुलोका कारण पटक–पटक सडक अवरुद्ध हुँदा सास्ती खेप्दै आएका स्थानीयवासी ढिलै भए पनि उक्त सडक कालोपत्र हुने भएपछि हर्षित भएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार