भारतीय पर्यटक घटेपछि माल्दिभियन चीनका चार गन्तव्यमा उडान सुरु गर्दै

एजेन्सी । माल्दिभियन एयरलाइन्सद्वारा पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने भएको छ । पछिल्लो समय भारतीय पर्यटक आगमनमा उल्लेख्य कमी आएपछि माल्दिभियन एयरलाइन्सले चिनियाँ चार मुख्य सहरहरूमा प्रत्यक्ष उडान सुरु गर्ने भएको हो ।

वाइड–बडी विमानको प्रयोग गर्दै आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति बलियो बनाउने र देशको पर्यटन क्षेत्रलाई थप प्रवर्द्र्धन गर्ने योजना गरेको छ । एयरलाइन्सले चीनको बेइजिङ, शाङ्घाई, छेन्दु, र शीआनमा आगामी सन् २०२५ जनवरीदेखि उडान गर्ने भएको हो । भारतसँगको कूटनीतिक तनावका कारण भारतीय पर्यटकको आगमनमा उल्लेख्य गिरावट आएको समयमा माल्दिभ्सले चिनियाँ पर्यटकप्रति आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । सन् २०२४ को डिसेम्बर १० सम्ममा २ लाख ५ हजार चिनियाँ पर्यटक माल्दिभ्स पुगेका छन्, जसले चीनलाई रूस र भारतभन्दा माथि राख्दै देशको प्रमुख पर्यटक स्रोत बनाएको छ ।

बेइजिङमा आयोजित नयाँ उडानहरूको उद्घाटन समारोहमा माल्दिभ्सका यातायात र नागरिक उड्डयन मन्त्री मोहम्मद अमिनले यी सेवाहरूको महत्त्वलाई जोड दिए का छन् । “ सन् २०२५ जनवरीबाट बेइजिङ, शाङ्घाई, छेन्दु, र शीआन तर्फका उडानहरूले पर्यटन र यातायातमा उल्लेखनीय सुधार गर्नेछ,” उनले बताए । मन्त्री अमिनले सामाजिक सञ्जालमार्फत पनि आभार व्यक्त गर्दै नयाँ सम्पर्कहरूले पर्यटन प्रवर्द्धन र पहुँच विस्तारमा मद्दत गर्ने विश्वास व्यक्त गरे।

चिनियाँ मार्गहरूको अतिरिक्त, माल्दिभियन एयरलाइन्सले युरोप र दक्षिण अफ्रिकातर्फ वाइड–बडी विमान सेवा सुरु गर्ने योजना बनाएको छ । यसअन्तर्गत जोहान्सबर्ग र युरोपका तीन प्रमुख सहरहरूमा प्रत्यक्ष उडान सुरु हुनेछन् । जसले एयरलाइन्सलाई लामो दूरीका उडानहरूमा पहिलोपटक प्रतिस्पर्धा गर्ने मौका दिनेछ ।

हाल माल्दिभियन एयरलाइन्ससँग १३ विमान छन् । जसमा एक एयरबस ए३२०, चार एटीआर र आठ ड्यास मोडल रहेका छन् । लामो दूरीका उडानका लागि सीमित क्षमता भएका यी विमानहरूलाई अब नयाँ वाइड–बडी विमानले प्रतिस्थापन गर्नेछ, जसले चीन र दक्षिण अफ्रिकाजस्ता गन्तव्यहरूमा बिना ट्रान्जिट प्रत्यक्ष उडान सम्भव बनाउनेछ ।

चिनियाँ पर्यटकसँगको निर्भरता बढ्नुको अर्को कारण भारतसँगको कूटनीतिक तनाव हो, जसले भारतीय पर्यटक आगमनमा ठूलो गिरावट ल्याएको छ । सन् २०२३ को दोस्रो त्रैमासिकमा ५४ हजार २०७ भारतीय पर्यटक पुगेकोमा सन् २०२४ को सोही अवधिमा यो संख्या २८ हजार ६०४ मा घटेको छ । यस कमीको कारण भारत–माल्दिभ्स बीचको कूटनीतिक विवाद र थाइल्यान्ड, मलेसिया, र इन्डोनेसियाजस्ता अन्य समुद्री गन्तव्यहरूको बढ्दो प्रतिस्पर्धा मानिएको छ ।

माल्दिभ्सका नेताहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणका क्रममा दिएको विवादास्पद टिप्पणीले हजारौं भारतीय पर्यटकले आफ्नो बुकिङ रद्द गरेका थिए, जसले पर्यटन उद्योगलाई थप चुनौती दिएको थियो । यी चुनौतीहरूका बाबजुद २०२४ मा माल्दिभ्सले १८.८ लाख पर्यटकलाई स्वागत गरेको छ । जसमा चीन र रूसले प्रमुख स्थान ओगटेका छन् । माल्दिभ्स सरकारले आफ्नो पर्यटन बजार विविधीकरण गर्ने र माल्दिभियन एयरलाइन्सको बढ्दो नेटवर्कलाई प्रयोग गरेर थप पर्यटन वृद्धिको योजना बनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार