गण्डकी प्रदेशको भौतिक पूर्वाधारमा १० वित्तीय र १३ प्रतिशत भौतिक प्रगति

गण्डकी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा १०.०१ प्रतिशत वित्तीय र १२.६ प्रतिशत भौतिक प्रगति गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले आफू नेतृत्वको मन्त्रालयका १०० दिनका उपलब्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो विषय जानकारी गराएका हुन् ।

उनले आफू नेतृत्वको मन्त्रालयको १०० दिनका विभिन्न १०० उपलब्धि समेटिएको पुस्तिका सार्वजनिक गरेका छन् । यस अवधिमा भएको वित्तीय तथा भौतिक प्रगति प्रदेश सरकार गठन भएयताकै हालसम्मको धेरै भएको उनले बताए । आर्थिक वर्षको अन्तिममा हतारहतार काम गर्ने प्रवृत्तिलाई निरूत्साहित गरिनुपर्ने बताउँदै उनले मातहतको कार्यालयका प्रमुखहरूलाई ढिलोमा पुस मसान्तसम्म ठेक्का प्रक्रियाको काम सक्न निर्देशन दिएको जानकारी गराए ।

मन्त्री केसीका अनुसार मन्त्रालयको कूल विनियोजित बजेट १२ अर्ब ७० करोड १६ लाख ६६० रुपैयाँ मध्ये यस अवधिमा १ अर्ब २७ करोड १९ लाख ५९ हजार रुपैयाँ मात्र खर्च भई करिब १०.०१ प्रतिशत वित्तीय प्रगति भएको छ । त्यस्तै १२.६ प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।
यस अवधिमा मन्त्रालयअन्तर्गतका कूल १९ वटा निकायबाट रू ७६ करोड ३९ लाख ३२ हजार तीन सय ७० राजस्व संकलन भएको जानकारी दिँदै मन्त्री केसीले सबैभन्दा बढी यातायात व्यवस्था कार्यालय, सवारी कास्कीबाट रू ४३ करोड ११ लाख ८१ हजार दुई सय ७७ राजस्व संकलन भएको जानकारी दिए । सहरी विकासतर्फ महेन्द्र गुफा बृहत् विकास परियोजना सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुुसार यस अवधिमा १ हजार ८४६ योजनामध्ये ३८ वटा सम्पन्न भइसकेका छन् भने ४८५ वटा निर्माणाधीन छन् । त्यस्तै २६५ वटा मूल्यांकनको चरणमा, ३०० वटाको बोलपत्र आह्वान भएको र ४८८ वटा लागत अनुमान तयार भई स्वीकृतिको चरणमा रहेको जनाइएको छ ।
वार्षिक कार्यक्रममा समावेश भएका तर योजनाको नाम, ठेगाना संशोधन गर्नुपर्ने, दोहोरोपन, स्थानीय विवादलगायत विविध कारणले दुई सय ७१ वटा योजना कार्यान्वयन हुन बाँकी रहेकोमा ती योजनाको संशोधनको प्रक्रिया अघि बढाइएको मन्त्री केसीले जानकारी दिए । यसबीचमा १६ दशमलव ७ किलोमिटर प्रादेशिक सडकको कालोपत्रे÷पक्की सडक निर्माण कार्य सम्पन्न भएको छ भने ११ दशमलव ९३५ किलोमिटर सडक चौडा बनाउने र ग्राभेलस्तरमा स्तरोन्नति गर्ने कार्य सम्पन्न भएको छ । त्यस्तै १९ किलोमिटर सडक पक्की ढलान गर्ने कार्य सम्पन्न भएको छ ।

चाडपर्वको पूर्वसन्ध्यामा राष्ट्रिय, प्रादेशिक तथा स्थानीय सडक तत्काल मर्मत गरी सहज र सुरक्षित यात्रा हुने व्यवस्थालाई जोड दिँदै बागलुङ जिल्लाको मालढुङ्गा–गलुवा–पाक्जा सडकअन्तर्गतको दब्ल्याङ खण्ड एवं कास्की जिल्लाको नयाँपुल–घान्द्रुक सडकमा गएको पहिरोबाट अवरूद्ध सडकको पहिरो हटाएर आवश्यक मर्मतसम्भार गरी यातायात सुचारू गराइएको उनले जानकारी दिए ।

सेवा प्रवाह सहज होस् भन्ने हेतुले कास्की, तनहुँ, बागलुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित यातायात व्यवस्था कार्यालयमा टोकन सिस्टम प्रणाली लागू गरिएको बताउँदै उनले आफूले नेतृत्व गरेसँगै यातायात कार्यालयमा हेल्प डेस्क स्थापना गर्ने निर्णयअनुुसार पाँचवटै यातायात व्यवस्था कार्यालयमा हेल्प डेस्क स्थापना गरिएको जानकारी दिए ।

पोखराको बसपार्क क्षेत्रमा रहेको यातायात कार्यालयमा सेवाग्राहीको चापलाई दृष्टिगत गरी लेखनाथमा पनि यातायात कार्यालय स्थापना गर्ने मन्त्रालयले तयारी गरेको छ । त्यसका लागि नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा यस मन्त्रालयले उपयोग गर्न स्वीकृति माग गर्ने निर्णय भएर प्रक्रिया अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । राइड सेयरिङलाई वैधानिकता दिन कार्यविधि तयार पार्ने काम भइरहेको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार