कञ्चनपुर । बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले तीन महिनामै डेढ लाख रुपैयाँ बढी आम्दानी गरेका छन् । तीन कठ्ठा जग्गामा चौधरीले काँक्राखेती गरेका छन् । हालसम्म २१ क्विन्टल काँक्रा बिक्री गरेको चौधरीले बताए । काँक्रा प्रतिकिलो ७० देखि ८० रुपैयाँमा बिक्री हुँदै आएको छ ।
काँक्रा रोप्नेदेखि टिपेर बजारसम्म लैजाने कार्यमा चौधरी खटिँदै आएका छन् । बारीमा उत्पादित काँक्रा स्थानीय झलारी, कलुवापुर र अत्तरियालगायत बजारमा बिक्री हुने गरेको छ । ‘स्थानीय व्यापारीले काँक्रा बारीबाटै खरिद गरेर लैजाने गरेका छन्’, चौधरीले भने, ‘व्यापारी नआएको दिन आफैँ साइकलमा राखेर काँक्रा बजारमा पुर्याएर बिक्री गरिँदै आएको छ ।’ अझै बारीमा १ लाख रुपैयाँ मूल्य बढीका काँक्रा बिक्री गर्न बाँकी रहेको उनले बताए ।
गत वर्ष उनले दुई लाख रुपैयाँ मूल्यका बेमौसमी काँक्रा बिक्री गरेका थिए । पीपलाडी गाउँमा व्यावसायिक तरकारीखेतीमा धेरै किसान भए पनि बेमौसमी काँक्रा उत्पादन गर्नेमा चौधरी एक्ला किसानका रुपमा रहेको छ । बेमौसमी काँक्राखेती गरेर बजार मूल्य पनि बढी पाइने र बजारमा सहजै बिक्री गर्न सकिने भएकाले यस खेतीलाई दुई वर्षदेखि निरन्तर रुपमा गर्दै आएको चौधरी बताए ।
भारतीय तरकारीखेती गर्ने व्यक्तिहरुबाट चौधरीले बेमौसमी तरकारीखेती गर्ने तौरतरिका सिकेको बताए । काँक्रासँगै चौधरीले लौका, भन्टा, खुर्सानी, तितेकरेला, चिचिण्डा, धनियाँ, आलु, लसुन, काउली, बोडीलगायतको खेती गर्छन् ।
काँक्राखेतीबाट तीन लाख रुपैयाँ र अन्य तरकारीखेती गरी वर्षमा उनले सात लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको आम्दानी गर्दै आएकी छन् । तरकारीखेती गरी आएको आम्दानीबाट चौधरीले छोरालाई काठमाडौँमा डेरामा राखेर मेकानिकल इञ्जिनियर पढाउँदै आएका छन् । उनले छोरीलाई महेन्द्रनगरमा कम्प्युटर विज्ञानको पढाइ गराउँदै आएका छन् ।
‘तरकारीखेतीबाट आएको आम्दानीमध्ये केही छोराछोरीका लागि खर्च हुन्छ’, चौधरीले भने, ‘बाँकी रहेको रकम घरखर्चमा सकिन्छ ।’ पीपलाडी गाउँमा तरकारीखेतीमा ५० बढी परिवार संलग्न छन् । त्यसमध्ये चौधरीलाई अधिक आम्दानी गर्ने किसानमा गणना गरिन्छ । चौधरीले एक दशकअघिदेखि तरकारीखेतीमा संलग्न रहँदै आएका छन् । व्यावसायिक खेतीमा संलग्न रहँदै आएका चौधरीले भने अहिलेसम्म अनुदानका कुनै पनि कार्यक्रममा समावेश हुन नपाएको गुनासो गरे ।