दैलेख । नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुगे । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्छन् । खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जीखेती गरिरहेका छन् । छोरा सागरको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्तागरी गाउँमै व्यावसायिक सागसब्जीमा रमाइरहेका छन् ।
कलाकार पशुपति शर्मा र सीता केसीले गाएको गीतजस्तै भएको छ, खड्कालाई । मलाई अमेरिका यही, मलाई जापान पनि यही । गाउँका अधिकांश पुरुष रोजगारीका लागि मुग्लान र खाडी मुलुकमा गए पनि उनले गाउँमा नै तरकारी व्यवसाय गरेर आम्दानी गरिरहेका छन् । उनले हाँस्दै भने, ‘ती कलाकारले मेरा लागि गीत गाएका हुन् कि क्या हो ?’
पालिकामा तरकारी संकलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर बिक्रीका लागि जम्बुकाँध बजार धाउनु उनको दिनचार्य नै बनेको छ । खड्का बजारमा पाइला टेक्नेबित्तिकै गाउँले एफएम दाइको, गाउँले तरकारी आयो है आयो, आफ्नै बारीमा फलाएको, अग्र्यानिक तरकारी, किन्नुहोस् भन्दै बजार–बजार डुल्दै चिच्याउछन् ट्यौली शैलीमा । उनको तरकारीप्रतिको यो लगाव देखेर गाउँका अधिकांश मानिसले सिको गर्न थालेका छन् ।
‘सानै उमेरमा हिमाञ्चल गएँ, दुःख पाएँ । अब आफ्नै देशमा गएर केही काम गर्छु भन्ने लाग्यो । गाउँ फर्किएर तरकारी लगाएँ । म १४ वर्षकै उमेरमा विदेश (भारत) मजदुरी गर्न जानुभएका उहाँ आजभोलि गाउँकै अगुवा कृषक बन्नुभएको छ । पहिला त मैले जहानपरिवारले खाने तरकारी फलाए त्यसपछि बिक्री हुन थालेपछि व्यावसायिक तरकारीखेतीतिर लागेको हुँ’, उनले भने । हाँसेर कुरा गर्ने उनको स्वभाव हो । दिनरात तरकारीबारीमा खटिएर उब्जाएको तरकारी बेच्न वरपर ठूलो बजार छैन । डौँसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्याउँछन् । ‘एकपटक ५५ केजी लिएर गएको रहेछु, बिक्रीपछि मात्र थाहा भयो, उनले भने, ‘बुुढो मुन्छे, डोको बोक्दा–बोक्दा थाप्लोका रौँ गइसके । केटाकेटीले बोकेर लगिदिन्नन्, क्यार्नु !’
श्रीमती (खजुरा)ले दुई भैँसी, एक हल गोरु र केही बाख्रा पालेर सघाउछिन् । खड्काले गाईवस्तुका बाहेक अन्य मल प्रयोग गर्दैनन् । चार सन्तानमध्ये जेठी छोरीको विवाह भइसक्यो । जेठाले १२ पास गरेर गाउँमै व्यापार गरिबसेका छन् । एक छोराले भर्खरै १८ महिने भेटेनरी कोर्ष पूरा गरे, एक छोरीले १२ कक्षा पास गरेकी छन् । ‘छोराछोरीलाई यतिसम्मको शिक्षादीक्षा मैले तरकारी बेचेरै दिएको छु,’ उनले भने ।
‘गाउँले एफएम दाइ’
विस २०५८ तिर, डौँसुरमा खड्का सानो खुद्रा पसल थियो । पसलमा रेडियोबाट दैनिक समाचार सुन्नु र पसलमा सामान किन्न आएका मानिसलाई समाचार सुनाउनु उहाँकै दैनिकजस्तै थियो । त्यतिबेला जनयुद्ध उत्कर्षमा थियो । समाचारप्रति स्थानीयको चासो बढी थियो । रेडियो नेपाल, माओवादीले सञ्चालन गरेको रेडियो, नेपालगञ्जको वागीश्वरी एफएम, कैलाली टीकापुरको फूलबारी एफएम आदिबाट बज्ने समाचार गाउँलाई चर्को ‘भोल्युम’मा सुनाउने गरेको उनका छरछिमेकी बताउँछन् ।
आज यो ठाउँमा यस्तो भीडन्त भयो, यति जनाको मृत्यु भयो, यति जना घाइते भए भनेर सबैलाई भन्थेँ, बिबीसी सुनेर विश्वका घटना पनि ज्ञान लिन्थे । त्यहीबेला माओवादीकै ‘रिवल’ले उनको नाम ‘गाउँले एफएम दाइ’ भनेर राखिदिए अहिले नगेन्द्र नामले होइन । उनले गाउँले एफएमदाई नामले परिचित छन् ।
खड्का लोकगीत र देउडामा रुचि उत्तिकै छ । विस ं२०४३ मा रेडियो नेपालबाट चौतारी कार्यक्रम आउँथ्यो, जहाँ अहिलेका इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलसमेत ठाडीभाका गाउँथे । त्यही बेलादेखि उनको रेडियोतर्फ र गीत–सङ्गीततर्फ लगाव बढ्यो ।