ललितपुर । गत असोज १२ गते शनिबारको बाढीले काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति गर्यो । बागमती, नख्खु खोला र दक्षिण ललितपुरको थोत्ने खोलामा आएको बाढीको कारण केहीले ज्यान गुमाए भने केही अझै बेपत्ता छन् ।
दक्षिण ललितपुरको महाकाल गाउँपालिका–२ थोत्ने खोलामा आएको बाढीको कारण ४८ घर पूर्णरूपमा विस्तापित भए । थप चौध घर बस्न मिल्ने अवस्थामा छैनन् । बाढीले क्षति गरेको करिब दुई महिना पुगिसक्दा पनि अझै कहाँ बस्ने भन्ने यकीन छैन । सरकारले राहत स्वरुप बाढीपीडितलाई दिने भनेको ५० हजारमध्येमा पहिलो किस्ताको २५ हजार बाढीपीडितले अझै पाउन सकिरहेका छैनन् ।
बाढीले घरवास पूर्णरूपमा क्षति पुर्याएका पीडित हाल आफन्तकोमा बसेर दैनिकी चलाइरहेका छन् । घरवास नै नभएका पीडितलाई कहाँ बस्ने चिन्ता रहेको महाङ्काल गाउँपालिका–२ का वडाध्यक्ष जोनीकुमार न्यासुर बताए । महाँकाल गाउँपालिका–२ का वडाध्यक्ष न्यासुरका अनुसार बाढीले क्षति पुर्याएको पूर्ण विवरण सङ्कलनको काम अन्तिम चरणमा छ । क्षति विवरण पूर्णरूपमा सङ्कलन भएपछि बाढीपीडितलाई पहिलो किस्ता वितरण गरिनेछ । हाल वडा कार्यालयको समन्वयमा विभिन्न दातृनिकायले दिएको राहत पीडितलाई वितरण गरीरहेको अध्यक्षको जोनीकुमारको भनाइ छ ।
‘बाढीले क्षति पु¥याएको करिब दुई महिना वितिसक्दा पीडितले बस्ने वास पाएका छैनन् । कोही गाउँमै आफन्तकोमा बसेका छन् भने कोही ललितपुर महानगरमा गएर आफन्तको बसेका छन् । अठचालिस घरको कुनै नाम निसानै छैन । चौध घर बस्न योग्य छैनन्,’ अध्यक्ष जोनीकुमारले भने । उनका अनुसार एकीकृत बस्तीको लागि ६७ घरधुरी बाढी पीडितले वडामा निवेदन दिएका छन् । बाढीपिडितको माग अनुसार महाँकाल गाउँपालिकाकै टुटुवा थुम्कामा बस्ती एकीकृत बस्ती बसाउने पालिकास्थरीय सर्वदलीय बैठकमार्फत पारित भइसकेको छ ।
बाढीले घरवास नै बगाएर लगेपछि हाल लितपुरको सातदोबाटोस्थित छोरीको घरमा बस्ने गरेका महाँकाल गाउँपालिका–२ मनिखेल थोत्ने खोलाका बाढीपीडित बुद्धिमान स्याङतान बताउँछन् । घरबास बाढीले बगाएर लगेपछि आफन्तकोमा अस्थायी रुपमा बस्नुपरेको बाध्यता बुद्धिमानको जस्तै अरु धेरैको छ । ‘बाढीले बस्तीलाई बगरमा परिणत गरेको छ । कसको घरबास कहाँ नेर हो भन्ने ठम्याउन सकिँदैन । बाढीको प्रकोपबाट बाँचेका केहीले अब कहिल्यै त्यो ठाउँमा नफर्कने निधो गरेका छन्,’ उनले भने ।
दातृनिकायले राहातस्वरुप दिएको सहयोगले कतिपयले टहरा निर्माण गरेर अस्थायी रुपमा बसेका छन् भने, कपिय अझै आफन्तको बसेर सरकारले राहातस्वरुप दिने भनेको पहिलो र दोस्रो किस्ताको ५० हजारको प्रतिक्षामा छन् । स्थानीय गोमामाया लामाका अनुसार अब विस्तारै सबैले टहरा निर्माण गर्दैछन् । वडा कार्यलयको समन्वयमा दातृनिकायबाट पाएको राहतले दैनिकी चलाए पनि पुर्खौँदेखिको घरबास बाढीले बगरमा परिणत गरेपछि अस्थायी टहरा कहाँ बनाउने चिन्ता छ ।