काठमाडौं । नेपालका दुई प्रमुख धितोपत्र ब्रोकर कम्पनी एसोसिएसन मर्जमा गएका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपालबीच आज साँझ मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपाल पुराना ब्रोकरहरुको संगठन हो । जबकि धितोपत्र ब्रोकर एसोसिएसन नेपाल नयाँ ब्रोकरहरूको छुट्टै संगठनको रूपमा स्थापना भएको थियो । नेपाल धितोपत्र बोर्डमा रमेश हमालको अध्यक्षतामा नयाँ ब्रोकरहरुलाई लाईसेन्स दिने निर्णयपछि दुई समूहको बीचमा मर्जर सहमति भएको हो ।
मर्जरपछि नयाँ एसोसिएसनको नाम स्टक ब्रोकर एसोसिएसन अफ नेपाल रहने सहमति भएको छ । यस मर्जरको उद्देश्य धितोपत्र बजारको प्रगति र ब्रोकरहरूको बीचमा सहकार्यलाई थप मजबुत बनाउनु हो । यससँगै, बजारमा भएका विभिन्न चुनौती र अवसरहरूलाई साझा गरेर नयाँ कदम चाल्ने तयारी गरिएको छ ।
मर्जर कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यो कदम पुँजीबजारले नयाँ कोशेढुंगा पाएको बताएका छन् । ‘आजको मर्जरले बजारमा नयाँ कोशेढुंगा पाएका छौ । दुइ धुर्बिकरण हटेको छ । शेयर बजारलाई चलायमान बनाउनु अहिलेको आवश्यकता हो । बजारलाई थप ब्यवस्थित र विकसित बनाउन तिर लाग्नु पर्दछ,’ उनले भने ।
सेयर बजारप्रति नियामक पनि सकारात्मक नभएको बेला यो मर्जरले ठुलो भुमिका खेल्ने बताए । हाल स्टक ब्रोकर्स एसोसीएशन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा छन् भने धितोपत्र ब्रोकर्स एसोसीएशन नेपालका अध्यक्ष सागर ढकाल छन् । यस्तै, सापकोटाले अब हाम्रो आवाज थप बलियो भएको बताए । ‘हाम्रो धेरै समस्याहरु रहेका छन्। अव हाम्रो समस्या समाधानका लागी बोल्ने आवाज बलियो भएको छ,’ उनले भने । जायज माग सम्बोधन गराउन यो मर्जरले ठुलो भुमिका निर्वाह गर्न उनले बताए ।