आन्तरिक पर्यटकको गन्तव्य बन्दै पोखरी ताल

कावासोती । पूर्वी नवलपरासीमा रहेका पर्यटकीय एवं धार्मिकसँगै अन्य मनोरम स्थलमा पर्यटकको चाप बढ्दैगएको छ । अन्य समयमा प्रायः सुनसानजस्तो देखिने पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

नवलपुरमा रहेका पर्यटकीय क्षेत्रहरू त्रिवेणीधाम, मौलाकालिका, दाउन्ने, शाश्वतधाम, अकलादेवी, गंगेश्वरधाम, धार्मिक पर्यटकीय क्षेत्र बाहेक प्राकृतिक स्थानहरू अमलटारी, कुमसोत, झरना खोला, धौवादी, कावासोतीको पोखरी ताल, नारायणी तटीय क्षेत्रमा समेत आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । जिल्लाको कावासोती –१ हात्तीखोरमा रहेको पोखरी ताल क्षेत्रको मुहार फेरिएको छ ।

केही वर्षअघिसम्म उजाड नाङगो डाँडा हरियाली भएसँगै आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनेको छ । महाराजा धार्मिक वन तथा पोखरी ताल जलासय निर्माण संरक्षण उपभोक्ता समिति गठन गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरेपछि यहाँ आन्तरिक पर्यटकको घुइँचो हुन थालेको हो । पूर्व–पश्चिम राजमार्गदेखि करिब ६ किलोमिटरको दूरीमा रहेको कावासोतीको पोखरी तालमा एकसय २८ प्रजातिका बोटबिरुवा, बाल उद्यान र वनभोजस्थल रहेकाले पनि आन्तरिक पर्यटकको भिड बढ्न थालेको छ । पोखरी ताल जलाशय निर्माण संरक्षण तथा उपभोक्ता समितिका अध्यक्ष भक्तिराम भट्टराईले बताए ।

भौगोलिक हिसाबले करिव दश बिघा क्षेत्रफलमा फैलिएको तालमा शंकदेव बायाँ सिँचाइ प्रालिबाट पानी ल्याएर ताल भरिएको हो । यी क्षेत्रका साथै पोखरी तालको सभ्यता र संस्कृतिलाई झल्काउन यो तालको पूर्ण निर्माण गरिएको ताल निर्माण समितिका सचिव तिलक ठकुरीले बताए । झट्ट हेर्दा फेवातालको स्वरुपमा डिपिआर तयार गरिएको कावासोती –१ मा रहेको पोखरी ताल १७ वर्षपछि पानीले भरिएको थियो । यसअघि दुई पटकसम्म तालमा पानी भरी परीक्षण गरिएको भए पनि निर्माण कार्यले पूर्णता पाउन नसक्दा पानी सुकेको थियो । अहिले निर्माणको काम भइरहेको उनले बताए ।

स्थानीय शोभा भण्डारीले यहाँ बोटबिरुवा फूल लगाई आकर्षक बनाइएको बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान रहेकाले छोराछोरीसहित घुम्न आएको बताए । यस स्थानमा गैँडा, बाघ, फोटो खिच्ने स्थानसहित विभिन्न संरचना निर्माण गरिएको छ । विभिन्न पार्कमा विभिन्न जीव जनावरका मूर्ति निर्माण गरी राखिएको छ । वनभोजमा रमाउन चाहनेका लागि पनि उचित पिकनिक स्पट स्मृति बाटिका (जहाँ आफ्ना दिवंगत भएका आफन्तहरुको सम्झनामा वृक्षरोपण गरी त्यहाँ नाम प्लेट राखिने) सहिद पार्कका लागि निश्चित ठाउँ छुट्याइएको भएर आन्तरिक पर्यटकको रोजाइ बनेको उनको भनाइ छ ।

कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले नगरभित्र पर्यटन क्षेत्रको विकास, सडक, नालासहितका पूर्वाधारको विकास, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विषय प्राथमिकता दिएर काम अघि बढाइएकोे बताए । पोखरी ताललाई केन्द्रित गरी सहज पहुँचका लागि सडकको स्तरोन्नतिको काम समेत सँगै बढाइएको छ ।

कावासोती वडा नं १, २, ३, ५ र ६ मा सिँचाइ पुग्ने, तालको बहुआयामिक प्रयोग गर्न सकिने भएकाले हाल निर्माण गर्न लागिएको संरचनाले ताल क्षेत्रको आकर्षण थप बढ्ने उनले बताए । पोखरी ताल स्थान आफैंमा पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्न सक्ने सभ्भावना बढिरहेको छ । रमणीय र पर्यटकीय गन्तव्यको रूपमा विकास भएको तालमा दैनिक एक सयभन्दा धेरै पर्यटक आउने गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार