पर्यटकको रोजाइमा ‘तीनधारे झरना’

काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीय स्थल तीनधारे झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ पर्यटकको सहजताका लागि शौचालय, कपडा फेर्ने कोठा, माथि डाँडाबाट सुन्दर झरनाको दृश्यावलोकन गर्न विश्रामस्थल, रेलिङलगायत संरचना निर्माण गरेसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो ।

रोशिखोलाको तिरबाट उकालो चड्दै गर्दा मन फुरुङ्ग हुन्छ । बादलुको घुम्टोले घरिघरी महाभारतलाई छोपिदिन्छ । केही क्षणमा कपास जस्तै बादल फाटेर महाभारतबाट बगिरहेको तीनधारे झरनाको घुम्टो उघार्दा देखिने मनमोहक दृश्यले सबैलाई मन्त्रमुग्ध बनाउने गर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मनमोहक झरनाको अवलोकन गर्दा जो कोहीलाई मोहित तुल्याउछ ।

छिनभरमा बदलिरहने मौसम र बादलको लुकामारीको दृश्यले पुल्कित बनाउँछ । ‘मनमोहक झरनालाई नजिकबाट साक्षात्कार गर्न पाउँदा आनन्द आइरहेको छ’, झरनासँग डुबुल्की मार्दै धरानका नवीन किरातीले भने, ‘सामाजिक सञ्जालबाट थाहा पाएर आएको हुँ । यो ठाउँ सुन्दर र आकर्षित रहेछ, यहाँसम्मको यात्राका क्रममा भएको थकानलाई बिर्सायो ।’ सल्लाको सुसेली, चराचुरुङ्गीको चिरबिर सुमधुर आवाजले यात्रालाई थप रोमाञ्चक बनाइदिने उनको बुझाइ छ ।

अग्लो महाभारत, वरिपरि हरियाली पहाडका थुम्काले झरनाको सौन्र्दयतालाई बेहुली झैँ सिँगारको छ । प्राकृतिक विविधतासँग भौतिक पूर्वाधारले झरनाको सुन्दरतालाई निखारपन ल्याएको छ । काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रुपमा विस्तार हुन्दै गएको छ । ‘उचाइ बढ्दै गयो मौसम बदलिन्छ । बादलुको घुम्टो उघार्दा झरनाको रङ्गीविरङ्गी दृश्यावलोकनले जो कोहीलाई मोहित तुल्याउँछ । झरनाको चिसो पानीमा खेल्दा थप मन आनन्दित हुन्छ’, काठमाडौंको कागेश्वरी मनोहरा–७ का प्रमेश थापाले भने, ‘मनै फुरुङ्ग भएको छ, सारा दुःख, कष्ट बिर्साएर मन हलुङ्गो भएको छ । झरनाको थेरापीले शारीरिक आनन्दको वर्ण गर्न सकिदैन ।’ प्रकृतिको अनुपम उपहारका रुपमा रहेको झरनाको प्रचारप्रसार गरी महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

थापाले टिकटकमा भाइरल भएको बाहुबली झरनाको रुपमा चिनिने तीन धारे झरना अवलोकन गर्न आएको बताउँदै प्रकृतिको सुन्दर उपहारका रुपमा रहेको यस झरनाले मानिसका दुःख र पीडाका भारी बिसाउने उत्कृष्ट गन्तव्य बन्न सक्ने उल्लेख गरे । ‘झरनाको स्पर्शले सबै कष्ट बिर्साउँछ । कञ्चन कलकल बहने पानीले रोमाञ्चकारी दृश्यलाई कैद गर्न/गराउँन बाध्य गराउँछ । अझ पानीमा खेल्दै छाँगाबाट झरना चढ्नुको आनन्द बेग्लै हुन्छ । मानिसका तृप्तिलाई झरनाले दुर गराइदिन्छ’, उनले भने ।

काभ्रेपलाञ्चोकको तीनधारे झरना अवलोकन गर्न जाने जो कोहीलाई उल्लेखित दृश्यले मोहित तुल्याउँछ । समुद्री सतहबाट एक हजार आठ सय मिटर उचाइमा रहेको यो झरना अहिले आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनिरहेको छ । यो झरना अहिले सामाजिक सञ्चालमा पनि चर्चामा छ । दक्षिण भारतीय फिल्म बाहुबलीमा देखाइएको झरनासँग मिल्दोजुल्दो भएकाले यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले बाहुबली झरना नाम दिएका छन् । काफलडाँडासम्म सडक पहुँच विस्तार भएको छ । सडकबाटो सकिएपछि मुख्य केन्द्रबाट करिब आधा घण्टाको पैदल यात्रापछि तीनधारे झरना पुगिन्छ । यहाँ पुग्न एक हजार ८० मिटर दूरीको यात्रा गर्नुपर्दछ ।

नेपालका प्रसिद्ध झरनामध्ये तेह्रथुम जिल्लामा रहेको सबैभन्दा अग्लो ह्यात्रुङ झरना र म्याग्दीको चर्चित रुप्से झरना पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेका गन्तव्य हुन् । ती क्षेत्रमा उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने गरेका नेपाल पर्यटन बोर्डले जनाएको छ । पोखराको पातले छाँगोलगायत चर्चित गन्तव्यले पर्यटक लोभ्याइरहेका छन् । राजधानी नजिकैको तीनधारे झरनाको आनन्द लिन छोटो समय र कम खर्चमा पुगिने उपयुक्त गन्तव्य हो । नेपालमा झरना पर्यटन बढिरहेकाले यसको आवश्यक प्रचारप्रसारमा पर्यटन बोर्डले सम्बन्धित स्थानीय तह र सरोकार भएका निकायसँग समन्वय र सहकार्य बढाएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जिल्लाको महत्वपूर्ण पर्यटकीयस्थल तीनधारे झरनाको संरक्षण र प्रवर्द्धनमा पालिका लागिपरेको बताए । ‘गाउँपालिकाभित्रको सम्भावित पर्यटकीयस्थलको पहिचान गरी संरक्षण र प्रवर्द्धनमार्फत आन्दानीको स्रोत बढाउन गाउँपालिकाले येजनाबद्ध रुपमा काम गरिरहेको छ’, उनले भने, ‘झरनाको संरक्षण, प्रवर्द्धन गरी आर्थिक आम्दानीसँग जोड्ने उद्देश्यले वार्षिक नीति र कार्यक्रममा समावेश गरेर अगाडि बढेका छौँ ।’

तीनधारे झरनालाई स्थानीयले कोरोनाको बेला फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि चर्चामा आएको अध्यक्ष लामाले जानकारी दिए । पछिल्लो तीनवर्षयता झरना पुग्ने पहुँच मार्गमा आवश्यक पूर्वाधार निर्माण गरी थप व्यवस्थित गरिएको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार