कावासोती । पछिल्लो समय तिज मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाले गुनासो गरेका छन् । तिजमा गाइने गीत र मनाउने शैलीमा आएको तडकभडकका कारण तिजको मौलिकता हराउँदै गएको हो ।
तिज आउनुभन्दा एक महिना अघिदेखि दर खाने प्रचलन सहरबजारमा बढेको छ । कावासोती –२ का डिला पराजुलीले आधुनिकतासँगै तिजमा गाइने गीत र मनाउने शैलीमा आएको तडकभडकका कारण तिजको मौलिकता हराउँदै गएको बताइन् ।
‘हाम्रा बाबाले छोरी लिन आएनन्, अँधेरी खोला नि बढ्यो बरिलै’ भन्ने तिजका भाका गाउँदै आँगनमा छमछम नाच्ने गरेको पहिलाका दिनलाई स्मरण गर्दै पराजुलीले अहिले भइरहेको गतिविधिले समाजलाई विकृतितर्फ अघि बढाएकोप्रति चिन्ता व्यक्त गरिन । नवलपुरको गैंडाकोटदेखि कावासोती माइत गर्न आएकी अम्बिका कँडेललाई तिज आएको महसुस नै भएको छैन । ‘पहिले तिज आएसँगै गाउँघरका दिदी बहिनी एकै ठाउँमा बसेर दुःख वेदनाका गीत गाउँथे । तर पछिल्लो समय यस्तो चलन कम हुँदै गएको छ’ उनले भनिन् । ठुला स्पिकर बजाएर उफ्रिएको देख्दा तिजको मौलिकता हराएको अनुभव हुने उनको भनाइ छ ।