काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँसहित कुसाङ लामा पक्राउ गरेको थियो। बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम लुकाइ छिपाइ राखेर केरूङतर्फ जाने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
टोखाबाट हिजो राति प्रहरीले नियन्त्रणमा लिएको ट्रकको ड्राइभर सिट मुनि ‘फल्स बटन’ बनाएर ६० बण्डल नोट बरामद थियो। प्रहरीका अनुसार ५०, १००, २०० र ५०० दरका युरो नोटहरु फेला परेका छन्। कुल १३ लाख ७५ हजार १५० युरो बरामद भएको छ।
यस्तै, ५० र १०० दरका अमेरिकी डलर फेला परेका छन्। जसको कुल रकम ३ लाख २० हजार ८५० अमेरिकी डलर हुन आउँछ। नेपाली मुद्राको सटही दर अनुसार बरामद विदेशी मुद्रा कुल २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउँछ। २५ करोड बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका– १ का ४३ वर्षीय कुसाङ लामा रहेको खुलेको छ। उनी चालक भइ भरियाको रुपमा काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो।
यसअघि ७ किलो सुन तस्करी प्रकरणमा समेत उनी पक्राउ परी जेल परेका थिए। जेलबाट छुटेपछि पनि उनले तस्करीको कारोबार छोडेनन्। उनले प्रहरीसँगको बयानमा आफू भरियाको रुपमा काम गर्दै आएको बताएका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका एसएसपी रमेश बस्नेतले पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि राजश्व विभाग हरिहर भवन पठाइएको बताए। उनले भने, ‘बरामद सामानसहित लामालाई राजश्व विभागमा पठाइएको छ। अवैध रकमको बारेमा थप अनुसन्धानपछि मात्र खुल्नेछ।
प्रहरीले उनको साथबाट उक्त रकम, एक थान मोबाइलसहित गाडी बरामद गरेको छ। प्रहरीले रकमसहित सिन्धुपाल्चोकका कुसाङ लामालाई पनि नियन्त्रणमा लिएको छ। लामा २०७३ सालमा पनि सुन तस्करी आरोपमा पक्राउ परेका थिए।