हलेसीका अग्निपीडितलाई पहिलो चरणमा २२ लाख राहत सहयोग

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका अग्नीपीडितलाई राहत रकम उपलब्ध गराइएको छ । हिन्दू, बौद्ध किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी बजारमा गत फागुन–४ गते ग्यास चुहावट भई आगलागी हुँदा पीडित भएका चार परिवारलाई पहिलो चरणमा २२ लाख रुपैयाँ राहत रकम उपलब्ध गराइएको हो ।

आगलागी भएको भोलिपल्ट अर्थात् फागुन–५ गते हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले अग्नीपीडितलाई नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा दुई महिना सहयोग संकलन गर्ने र १५ दिनमा संकलन भएको रकम पीडितलाई दिने निर्णय गरेको थियो । आगलागी भएको १५ दिनमै राहत रकम हस्तान्तरण गर्न नसकिए पनि फागुन मसान्तसम्म संकलन भएको २२ लाख रुपैयाँ राहत रकम आगलागी पीडितलाई उपलब्ध गराइएको नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ का अध्यक्ष कमल गिरीले जानकारी दिए ।

आगलागीबाट घरमा पूर्णक्षति भएका पदमशेर राई र ओइराख राईलाई ९/९ लाखका दरले तथा आंशिक क्षति भएका प्रकाशचन्द्र गिरी र भरणशेर राईलाई दुई÷दुई लाख रुपैयाँका दरले राहत वितरण गरिएको उनले बताए । राहत रकम संकलन अभियान अझै जारी रहेकाले इच्छुकलाई सहयोग गर्न आग्रह गरिएको छ । पदमशेरको काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा रहेको हार्डवेयर पसलमा राखिएको खाना पकाउने ग्यास चुहावट हुँदा लागेको आगोले पूर्णरुपमा घर जल्दा ४ करोड रुपैयाँ, पदमशेरकै बायाँपट्टी रहेको ओइराखको न्यू कल्याण होटल सञ्चालन भइरहेको चारतले पक्की घर र सँगै रहेको निजकै काठको दुईतले घरमा पूर्ण क्षति हुँदा २ करोड ५० लाख रुपैयाँ क्षति भएको जनाइएको छ ।

प्रकाशचन्द्रको हलेसी दर्शन होटलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख रुपैयाँ र भरणशेरको पारुहाङ होटलको चारतले पक्की घरको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा ५० लाख रुपैयाँ गरी कूल ७ करोड ३० लाख रुपैयाँको क्षति भएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार