‘ऐतिहासिक नेपालमण्डल, संघवादको सिद्धान्त र नेवाः पहिचान’ पुस्तक सार्वजनिक

जनता समाजवादी पार्टीका सङ्घीय अध्यक्ष एवम् पूर्वमन्त्री राजेन्द्र श्रेष्ठको पुस्तक ‘ऐतिहासिक नेपालमण्डल, संघवादको सिद्धान्त र नेवाः पहिचान’ सार्वजनिक भएको छ। पूर्व प्रधानमन्त्री पुष्पकमल दहालको प्रमुख आतिथ्यमा भव्य समारोहका बीच नेपा बैन्क्वेट खुसिबुमा विमोचन सम्पन्न भएको छ।

श्रेष्ठद्वारा लिखित यो पुस्तकमा नेपालको इतिहास, नेवार समुदायको पहिचान र संघवादको सिद्धान्तलाई गहिरो रूपमा विश्लेषण गरिएको छ। पुस्तकमा १३ वटा खण्डहरू समेटिएका छन्, जसले नेपालको विविध पक्षहरूलाई उजागर गर्छ।

‘नेपालका हामी नेवार’ नेवारहरूको उत्पत्ति, नेपाल नामकरणको इतिहास र मल्ल कालसम्म नेवाः राष्ट्रियताको विकासबारे उल्लेख गरिएको छ। यस खण्डमा किरात, आर्य, आष्ट्रिक र द्रविड जातिहरूको मिश्रणले नेवार समुदायको निर्माण भएको उल्लेख छ। नेपाल नामकरणका विभिन्न व्याख्याहरू, जस्तै नेवाल, नेपार, नेप/नेय्, नेप ग्वाला जस्ता नामहरूबाट ‘नेपाल’ बनेको ऐतिहासिक सन्दर्भहरू यसमा पाइन्छन्।

  • ‘प्राचीन नेपाल र नेपालमण्डल’ भागमा नेपाल उपत्यकाका परिधि बाहिरको स्वायत्त भूभागलाई नेपालमण्डल भनेर जनाइएको र यो संघीय राज्यको प्राचीन स्वरूप भएको कुरा प्रस्तुत गरिएको छ। लिच्छवी कालमा नेपालमण्डलको अवधारणाले पाँचवटा स्वतन्त्र राज्यहरूको सङ्घ रहेको उल्लेख गरिएको छ, जुन पछि चारवटा राज्यहरूमा सीमित भयो।

‘गोरखा राज्य विस्तार र केन्द्रीकृत शासनको प्रादुर्भाव’ खण्डमा गोरखा राज्य विस्तारको पृष्ठभूमि, ४५ वर्षसम्म चलेको युद्ध, केन्द्रीकृत सामन्ती राज्यको उद्भव र त्यसको परिणामहरू समेटिएका छन्।

‘नेपालमा संघवादी विचारको प्रादुर्भाव’ भागमा नेपालको प्राचीन स्वायत्त शासन व्यवस्थामा संघीयताको भ्रूणहरू रहेको उल्लेख छ भने आधुनिक नेपालमा संघवादको अवधारणा २००७ सालको परिवर्तनबाट सुरु भएको र २०६२ सालको जनक्रान्तिपछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। संविधानको पहिलो संशोधनपछि संघीयता संविधानमा समावेश भएको र दोस्रो संविधानसभाले प्रशासनिक-भौगोलिक संघीय संरचना बनाएको तथ्यहरू उल्लेख छन्।

‘संघवादको सिद्धान्त’ भागमा संघवादको अवधारणा, सिद्धान्त र नेपालमा लागू गरिएका विभिन्न संघीय संरचनाबारे चर्चा गरिएको छ। संघवाद भनेको देशको सार्वभौम शक्ति संघ र प्रदेशमा बाँडफाँट गरी प्रयोग गर्ने सिद्धान्त हो भन्ने कुरा पुस्तकमा उल्लेख छ।

‘समावेशी लोकतन्त्र र निर्वाचन प्रणाली’ शिर्षक भागमा समावेशी लोकतन्त्रको परिभाषा, सामुहिक अधिकार, व्यक्तिको दक्षता र विभिन्न निर्वाचन प्रणालीहरूबारे चर्चा गरिएको छ। पुस्तकमा मानव विकास सूचांक उच्च भएका १५ वटा देशहरूमध्ये स्वीट्जरल्याण्ड, नर्वे, आइसल्याण्ड लगायतका ११ वटा देशहरूमा समानुपातिक प्रणाली अपनाइएको उल्लेख गरिएको छ।

यसरी, राजेन्द्र श्रेष्ठद्वारा लिखित ‘ऐतिहासिक नेपालमण्डल, संघवादको सिद्धान्त र नेवाः पहिचान’ पुस्तकले नेपालको ऐतिहासिक, सांस्कृतिक र राजनीतिक पक्षहरूको गहन अध्ययन प्रस्तुत गरेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार