काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । यो साताको अन्तिम कारोबार हुने शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
यो साता सुन तोलामा ४ हजार २०० रुपैयाँले बढेको छ । साताको पहिलो कारोबार दिनको तुलनामा अन्तिम कारोबार दिनमा सुनको मूल्य ४ हजार २०० रुपैयाँले बढेर १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको छ । साताको पहिलो दिन प्रतितोला १ लाख ७० हजार ३०० रूपैयाँ कारोबार भएको सुनको मूल्य सोमबार बढेर प्रतितोला १ लाख ७० हजार ४०० रूपैयाँ पुगेको थियो । त्यस्तै मंगलबार भने सुनको मूल्य घटेर १ लाख ६९ हजार ९०० रूपैयाँमा झर्याे । त्यसपछि भने बुधबार सुनको मूल्य पुनः महंगिएर १ लाख ७० हजार ५०० रूपैयाँ पुग्यो । बिहीबार होलीको दिनमा भने सार्वजनिक विदा भएकाले नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य अपडेट गरेन् । तर, शुक्रबार भने सुनको मूल्यमा भारी वृद्धि भयो । यो दिन सुन तोलामा नै ४ हजार रूपैयाँले बढेर तोलाको १ लाख ७४ हजार ५०० रूपैयाँ पुगेको हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार तोलाको १ हजार ९८५ रूपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य साताको अन्तिम दिन शुक्रबार तोलामा ६५ रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ पुगेको हो ।