हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका लोपोन्मुख वनकरिया समुदायले चैते धान रोप्न सुरू गरेका छन् । डेढ दशक अगाडिसम्म खेतीपाती नगर्ने फिरन्ते यो समुदाय हाल खेतीपाती र पशुपालनमा व्यस्त हुन थालेका हुन् ।
खेतमा धान राप्दै गरेकी सुन्तली वनकरियाले हरेक वर्ष करिब पाँच क्विन्टल चैते धान भित्र्याउने गरेको बताइन् । उनले पानी कम हुने भएकाले जम्मा तीन कठ्ठामा मात्र चैने धान रोप्ने गरेको सुनाइन् । वनकरिया समुदायमा सबैले करिब आफ्नो जग्गाको आधा जग्गामा मात्र चैते धान रोप्ने गरेका छन् ।
चैते धानले उक्त समुदायलाई चार महिना सजिलै पुग्ने सुन्तलीको भनाइ छ । ‘हाम्रो सासू, ससुराले धान रोप्ने गर्नुहुन्थ्यो, किनकी उहाँहरू जङ्गलमा बस्ने गर्नुहुन्थ्यो, तर अहिले हामीलाई करिब खान पुग्ने खेती हामी गर्छौं’, उनले भनिन्, ‘हामी धान, मकै, आलु र तरकारीखेती गर्छौं, भैँसी र बाख्रा पालेका छौँ ।’ उनका दुई छोरा, श्रीमानसहित चार जनाको परिवार छ । खानका लागि खेतीले पुग्ने र बच्चा पढाउन र अन्य खर्चको जोहो गर्न भने कमाउन जानुपर्ने बाध्यता रहेको उनले सुनाइन् ।
त्यसैगरी चार छोरी र तीन छोरासहित ठूलो परिवार रहेको विष्णु वनकरिया पनि अहिले चैते धान रोप्न व्यस्त छन् । उनको हालको दैनिकी आफ्नो खेतमा धान रोप्ने मात्र होइन समुदायका सदस्यकामा मेलापर्म गरेर बित्ने गरेको छ । बाहिरबाट काम गर्नको लागि कोही पनि नबोलाउने भएका कारण उनीहरू एक अर्काको पर्म गर्ने गरेको उनी बताउँछिन् ।
समुदायकी मुखिया सन्तमाया वनकरियालाई पनि चैते धान रोप्न भ्याइनभ्याइ छ । उनी बिहान सबेरै उठेर बीउ काट्ने गर्छिन् । बालबालिका विद्यालय गइसकेपछि पालैपालो धान रोप्ने गरेको उनले सुनाइन् । जेटिए अध्ययन गरेर गाउँमा नै सेवा गरिरहेकी सन्तोषी वनकरियालाई अहिले रोपिरहेको धान भित्र्यादाको खुसीभन्दा पनि धान रोपिरहेको जमिनको स्वामित्व स्थायीरूपमा हस्तान्तरण नभएको चिन्ता लाग्ने गरेको छ । आफू वनमा जन्मेको भए पनि बालापन बिताएको उक्त बस्तीको जमिन आफूहरूको लागि तत्कालीन अवस्थामा बीस वर्षलाई मात्र दिएको र उक्त समय सकिन लागेको कारण आफू चिन्तित भएको उनको भनाइ छ । उनका अनुसार समुदायलाई विसं २०६२ मा तत्कालीन जिविसले सामुदायिक वनको छेउमा २० वर्षको लागि जग्गा दिएर बस्ती बसाएको करिब १९ वर्ष भएको छ ।
वनमरिया समुदायले १८ वर्ष अगाडिसम्म खेती गर्न नजानेको र बालबालिकालाई पनि गाईभैँसीको दूध खुवाउने चलनसमेत नभएको समुदायकी मुखिया सन्तमायाको भनाइ छ । उनका अनुसार तत्कालीन समयमा गिठ्ठा, भ्याकुर, च्याउ, खनायो, कुरिलो माछा खाएर जीवन धान्ने गरिन्थ्यो, भने हाल खेतीपाती र पशुपालनबाट खानको लागि पुग्ने गरेको छ ।