सिन्धुपालचोकको भूमेश्वरी विद्यालयमा पुस्तकालय उद्घाटन

सिन्धुपालचोक, सिन्धुपालचोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा २४ फेब्रुअरी २०२५ का दिन एक नयाँ र सुविधा सम्पन्न पुस्तकालयको उद्घाटन गरिएको छ। यो पुस्तकालय न्यूयोर्कबाट सञ्चालन हुँदै आएको एभरेष्ट टाइम्स अनलाइन पत्रिका र मार्फा कग्यु धर्म संरक्षण केन्द्र, काठमाडौंको सहयोगमा निर्माण भएको हो। यस पुस्तकालय निर्माणका लागि अमेरिकामा बसोबास गर्ने साङ्दोर्जे शेर्पा र बायो कान्छा शेर्पाले आर्थिक सहयोग गरेका थिए, र कार्यक्रमको संयोजन स्थानीय रूपले एभरेष्ट टाइम्स न्यूयोर्ककी पासाङ छेल्हामो शेर्पाले गरिन्।

पुस्तकालयको निर्माण प्रमुख संयोजक पासाङ छेल्हामो शेर्पाद्वारा उद्घाटन गरिएको हो। विद्यालयको ४९ औं वार्षिकोत्सवको अवसरमा नगर उपप्रमुख मन्जु तामाङको प्रमुख आतिथ्यतामा पुस्तकालयको उद्घाटन गरियो। उद्घाटन कार्यक्रममा पुस्तकालय परियोजना संयोजक पासाङ छेल्हामो शेर्पा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर शेर्पा, स्थानीय पुस्तकालय संयोजक दाऊ छिरी शेर्पा, वडाध्यक्ष आङ्गदोर्जे शेर्पा, शिक्षक शिक्षिका, अभिभावक र स्थानीय समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

 

पुस्तकालयसँगै, मार्फा कग्यु धर्म संरक्षण केन्द्रले कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाइ स्कूल ब्याग वितरण गरेको थियो, र लाइन्स क्लब अफ नेपाल शेर्पाजले कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूलाई कापी, १२०० कलम र पेन्सिल १२०० र ६ थान कार्पेट सहयोग गरेको छ। यस पहलले विद्यार्थीहरूको अध्ययनस्थलको वातावरणलाई सुधार गर्ने उद्देश्य राखेको छ।

भूमेश्वरी विद्यालयका प्रधानाध्यापक साङ्गे शेर्पाले पुस्तकालयमा विभिन्न प्रकारका पुस्तकहरू राखिएको जानकारी दिए। यी पुस्तकहरूमा धार्मिक ग्रन्थ, विज्ञान, कृषि, सीपमुलक जानकारी, सफल व्यक्तित्वका आत्मकथा र शिक्षा जस्ता विषयहरू समावेश छन्।

पुस्तकालयको निर्माण प्रमुख संयोजक पासाङ छेल्हामो शेर्पाका अनुसार, यस विकट स्थानमा शैक्षिक परियोजना निकै आवश्यक थियो, जहाँ विद्यार्थीहरूले शिक्षाको पहुँच पाउन गाह्रो छ। उनले भने, “नेपालका विकट र ग्रामीण क्षेत्रहरूमा शिक्षा र सिकाइको अवसरहरू सीमित छन्, जसले विद्यार्थीहरूको भविष्यमा ठूलो प्रभाव पार्छ। पुस्तकालय जस्ता शैक्षिक संसाधनहरूको स्थापना विद्यार्थीहरूलाई बाह्य ज्ञान र सूचना प्राप्त गर्न मद्दत पुर्याउँछ र उनीहरूको सोच र दृष्टिकोणलाई फराकिलो बनाउँछ।”

यस पुस्तकालय निर्माणका क्रममा स्थानीय समाजसेवी दाऊ छिरी शेर्पाले विद्यालय र सहयोगी दाताहरूबीच पुलको काम गरे, जसका कारण पुस्तकालय निर्माणमा सहयोग मिल्यो। विद्यालयका वडाध्यक्ष आङ्गदोर्जे शेर्पाले पुस्तकालयको स्थापनासँगै झोला, कार्पेट र स्टेशनरी सामग्रीको उपलब्धताले विद्यार्थीहरूको अध्ययन वातावरण सुधार हुने बताए।

भूमेश्वरी विद्यालयमा हाल ७५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, र यो विद्यालय विकट क्षेत्रको एक महत्त्वपूर्ण शैक्षिक केन्द्रको रूपमा रहेको छ। विद्यालयले शैक्षिक सत्र २०८१ मा उत्कृष्ट जिपिए हासिल गर्ने कक्षाका छात्रछात्रालाई पुरस्कार वितरण गरेको थियो। यसै गरी, खेल सप्ताहका विभिन्न प्रतिस्पर्धामा विजयी भएका विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार पनि प्रदान गरिएको थियो।

नगर उपप्रमुख मन्जु तामाङले विद्यालयको व्यवस्थापन समिति, शिक्षक र अभिभावकहरूको सक्रियतामा प्रशंसा गर्दै यस विद्यालयले सीमित स्रोत र साधनका बाबजुद पनि प्रभावकारी शैक्षिक वातावरण सिर्जना गरेको बताइन्। उनले यो विद्यालयको सामुदायिक ऐक्यबद्धता, शिक्षकहरूको समर्पण र विद्यार्थीहरूको उत्साहले भविष्यमा उज्जवल अवसरहरूको निर्माण गर्ने विश्वास व्यक्त गरिन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार