काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा हिजो दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड फाइनलमा पुगेको हो ।
अब आउँदो आइतवार हुने फाइनल खेलमा न्युजिल्यान्ड र भारत भिड्नेछन् । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट अघि बढ्न सकेन । ३ सय ६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १२ रन मात्र बनायो ।
दक्षिण अफ्रिकाका डेविड मिलरले नटआउट १०० रन बनाए । रस्सिभानडर दुसेन ६९ र कप्तान तेम्बा बावुमाले ५६ रन जोडे । न्युजिल्याण्डका लागि कप्तान मिचेल सान्टनरले ३, म्याट हेनरीले २, रचिन रविन्द्र र माइकल ब्रेसवेलले समान १ विकेट लिए ।
त्यसअघि पाकिस्तानको लाहोरमा रहेको गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६२ रन बनाएको थियो । उसका लागि रचिन रविन्द्रले सर्वाधिक १०८ रन बनाए । केन विलियमसनले १०२ रन जोडे । दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ३ विकेट र कागिसो राबडाले २ विकेट लिए । फाइनल खेल दुबईमा हुनेछ ।