ओखलढुङ्गा । यहाँको मानेभञ्ज्याङ गाउँपालिका–३ स्थित वाम्द्यालमा स्वालेवा (चिन्डो) पार्क निर्माण गरिएको छ । किरात राई समुदायअन्तर्गत वाम्बुले राईहरूको आदिम बस्तीका रूपमा परिचित वाम्द्यालमा वाम्बुले ‘राई समाज’ नामक संस्थाको अग्रसरतामा उक्त पार्क निर्माण गरिएको हो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज एक समारोहबीच पार्कको उद्घाटन गर्दै ऐतिहासिकस्थलमा नमूना पार्क बनेकामा प्रशंसा गरे । ‘संस्कृति र सांस्कृतिकस्थलको संरक्षण सरकारले गर्दै आएको छ । यस ठाउँका लागि पनि सरकारले आवश्यक सहयोग गर्नेछ’, उनले भने ।
राष्ट्रियगानका सर्जक व्याकुल माइलाले किरातीहरूको मुन्दुममा स्वालेवाको सांस्कृतिक महत्व धेरै भएको बताउनुभयो । सांसद रामहरि खतिवडाले स्वालेवा पार्क देशको स्वाभिमानका रूपमा ठडिएको बताए । अब यसलाई पर्यटनसँग जोड्नुपर्नेमा उहाँले जोड दिए ।
पूर्वसांसद तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य यज्ञराज सुनुवारले राष्ट्रियता केवल ढुङ्गा र माटो मात्र नभएर मान्छेको पहिचान भएको बताए। उनले भने, ‘वाम्बुले समुदायले बनाएको स्वालेवा पार्क यस समुदायको मात्र पहिचान हैन, यो त राज्यको हो । यसको संवर्द्धनको काम राज्यले गर्नुपर्छ ।’
कोशी प्रदेशसभा सदस्य प्रदीप सुनुवारले राज्यले संस्कृति र पहिचानलाई सम्पत्तिका रूपमा बुझ्नुपर्ने बताए । सबै जातिका संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो । वाम्बुले राई समाजका अध्यक्ष गजुरधन राईले आगामी दिनमा पार्कको संरक्षण गरी पर्यटन प्रबर्द्धन गर्ने चुनौती थपिएको बताए ।
विसं २०७४ देखि निर्माण सुरु गरिए पनि बजेट अभावका कारण पार्क निर्माण सम्पन्न गर्न सात वर्ष लाग्यो । पार्क दुई रोपनी क्षेत्रफलमा फैलिएको छभने स्वालेवाको उचाइ ३९ फिट रहेको छ । स्वालेवासँगै अदुवाको समेत स्तम्भ निर्माण गरिएको छ । उक्त स्तम्भ चर्चित मूर्तिकार धनु याख्खा नेतृत्वमा मूर्तिकारहरूले निर्माण गरेका हुन् ।
पार्क तीनै तहका सरकारबाट ६२ लाख रुपैयाँ र स्थानीय समुदायले चन्दा सङ्कलन गरी २७ लाख ८९ हजार ८ सय ८४ गरी ८९ लाख ७९ हजार ८ सय ९४ रुपैयाँ लागतमा निर्माण गरिएको पार्क निर्माण समितिका आर्थिक संयोजक मुम्चे राईले जानकारी दिए ।
स्वालेवा किरात समुदायले जन्मदेखि मृत्यु संस्कारसम्म अनिवार्य प्रयोग गर्ने सामग्री हो । यो एक वनस्पतीय फल हो ।