‘बेबी कर्न’ को जातिय परीक्षण सुरु

चितवन । तरकारी खाने मकै (बेबी कर्न) को जातिय परीक्षण सुरु गरिएको छ । पूर्वी चितवनको कालिका नगरपालिकामा यो परीक्षण सुरु गरिएको हो । कालिका नगरपालिका–१ मा करिब तीन कठ्ठा जग्गालाई १४ वटा प्लटमा विभाजन गरी सात प्रजातिका बेबी कर्नको जातिय परीक्षण सुरु गरिएको कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले जानकारी दिइन् । उनका अनुसार सिपी ८०८, जेकेएमएच ५०२, रामपुर हाइब्रिड १०, १२ र १६, एमएम ११०७ र राजकुमार जातका मकैको जातिय परीक्षण सुरु गरिएको हो । अन्य मकैको खेती गर्दै आएका किसानलाई लक्षित गर्दै यो परीक्षण सुरु गरिएको हो ।

स्थानीय विवस भट्टको जग्गामा यी जातका बेबी कर्नको परीक्षण सुरु गरिएको हो । जहाँ जातिय परीक्षण, झारपात व्यवस्थापन र मलखाद व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरिने छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका सहप्रध्यापक डा माधवप्रसाद न्यौपानेले यहाँ परीक्षण गर्न लागिएका सात जातमध्ये छ वटा जातको परीक्षण पहिलो पटक गर्न लागिएको बताए । उनले भने, ‘यसअघि रामपुर हाइब्रिड १० को कृषि तथा वन विज्ञान विश्व विद्यालयमा परीक्षण गरिएको थियो ।’

यो मकैको कलिलो खोयालाई तरकारी र सलादको रुपमा प्रयोग गर्न सकिने छ । यो मकैप्रति हेक्टर क्षेत्रफलमा एक लाख २५ हजार बिरुवा लगाउन सकिने उनले जानकारी दिए । ‘लगाइएको ५० देखि ७० दिनमा उत्पादन लिई सक्नुपर्ने हुन्छ,’ उनले भने । यो मकै भाँच्ने समयमा ध्यान दिन नसके खान मिल्ने कलियो खोया कडा रुपमा परिणत हुने भएकाले उनले सतर्कतापूर्वक परीक्षण गर्न लागिएको बताए । एकपटक लगाएको बिरुवाबाट चार पटकसम्म उत्पादन लिन सक्ने भएकाले अर्को मकैको ठाउँमा यो मकै कृषकका लागि उत्तम हुने उहाँले जानकारी दिए ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले प्रदेश सरकारको स्वीकृत कार्यक्रमअनुसार चितवनमा पहिलो पटक परीक्षणका रुपमा खेती सुरु गरिएको बताए । प्रसारका कार्यक्रम अन्तर्गत प्रबिधिको प्रयोग र नयाँ उत्पादनको खोजी गरिएको उनले बताए । कृषि तथा वन विज्ञान विश्वविद्यालय र कृषि विकास कार्यालयको सहकार्यमा उन्नत प्रविधि प्रदर्शनीअन्तर्गत यो परीक्षण गरिएको हो । ‘यो बीउ परीक्षणले जिल्लामा कुन जात सफल हुन्छ भन्ने कुरालाई अनुसन्धानका लागि सहयोग पुग्ने छ,’ उनले भने । परीक्षणले किसानलाई जात सिफारिस गर्न सहज हुने उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार