केआईआईटीले नेपाली विद्यार्थीलाई फर्कन पुन: गर्यो अपिल, यात्राको सबै खर्च ब्यहोर्ने

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाल फर्किएका नेपाली विद्यार्थीहरुलाई नियमित कक्षामा फर्कन आग्रह गर्दै यात्राको सबै खर्च बेहोर्ने बताएको छ । विश्वविद्यालयले अभिभावकहरुलाई एक अनुरोधपत्र लेख्दै नेपालबाट फर्कनका लागि लाग्ने सबै खर्च समेत आफैले बेहोर्ने उल्लेख गरेको हो ।

विश्वविद्यालयका उपकुलपति सरञ्जित सिंहद्वारा हस्ताक्षरित पत्रमा यही फेब्रुअरी १८ देखि नियमित रुपमा कक्षा सञ्चालन भइसकेको समेत उल्लेख गरिएको छ । ‘विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रम तथा प्रक्रिया पुनः सञ्चालन भइसकेका छन् । विद्यार्थीहरूलाई छिटोभन्दा छिटो कलेज फर्कन अनुरोध गर्दछौँ’, पत्रमा भनिएको छ, ‘विश्वविद्यालयमा फर्कनका लागि (बस, रेल वा हवाई) यात्राको सम्पूर्ण खर्च विश्वविद्यालयले बेहोर्ने छ ।’

विश्वविद्यालयले विद्यार्थी सुरक्षामा पनि प्रतिबद्धता जाएको छ । उसले विद्यार्थीहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै अभिभावकलाई ढुक्क रहन समेत आग्रह गरेको छ । साथै यस अवधिमा छुटेका कक्षा वा प्रयोगशालाहरू विद्यार्थीहरूको शैक्षिक, करियर तथा रोजगारीको अवसरमा असर नपर्ने समेत विश्वास दिलाएको छ ।

साथै विश्वविद्यालयका होस्टल वा स्कूलबाट कुनै किसिमको सहमति वा हस्ताक्षर माग्ने कुनै प्रावधान नरहेको स्पष्ट पार्दै अन्य स्रोतबाट आएको गलत सूचनालाई वेवास्ता गर्न समेत आग्रह गरिएको छ ।

विश्वविद्यालयमा हाल ६५ भन्दाबढी मुलुकका तीन हजारभन्दा बढी विदेशी विद्यार्थी अध्ययन गरिरहेको बताइएको छ । विश्वविद्यालयसँग सम्बन्धित कुनै जिज्ञासा भए डा विकाश सबत (९८७३६६६०७२) वा डा ममता धिताल (७८५५०२९३२२) लाई सम्पर्क गर्न सकिने जनाइएको छ । केआईआईटीमा अध्ययनरत एक नेपाली छात्राको मृत्युपछि उत्पन्न तनावका कारण त्यहाँ अध्ययनरत सयौंको संख्यामा रहेको नेपाली विद्यार्थीहरु नेपाल फर्किएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार