काठमाडौं, – नेपाल पर्वतारोहण संघ (NMA) स्थापनाकालदेखि नै नेपालको पर्वतीय पर्यटनका लागि आवश्यक जनशक्ति उत्पादन गर्दै आएको छ। संघले सञ्चालन गर्ने प्रमुख तालिमहरूमा आधारभूत पर्वतारोहण तालिम, उच्च पर्वतारोहण तालिम, High Mountain Rescue Training (HMRT) तथा अन्तर्राष्ट्रिय स्तरको माउन्टेन गाइडहरू समेत रहेका छन्।
नेपाल पर्वतारोहण संघले २०११ देखि माउन्टेन लिडर कोर्स सञ्चालन गर्दै आए पनि, युनियन अफ इन्टरनेशनल माउन्टेन लिडर एसोसिएशन (UIMLA) को विधान अनुसार संघले सो संस्थाको सदस्यता लिन नसक्ने भएकाले, २०७४ असार ७ गते नेपाल माउन्टेन लिडर्स एसोसिएशन (NMLA) स्थापना गरिएको थियो। स्थापनाकालदेखि नै, NMLA ले उक्त तालिमलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन UIMLA को सदस्यता प्राप्त गर्ने प्रक्रिया सुरु गरेको थियो। सन् २०१७ मा, NMLA ले UIMLA को Aspirant सदस्यता प्राप्त गर्न सफल भयो। यसपछि, नेपाल पर्वतारोहण संघले निरन्तर रुपमा तालिमहरू सञ्चालन गरी, नेपालको माउन्टेन लिडर कोर्सलाई सुदृढ बनाउँदै लग्यो।
गत वर्ष, सन् २०२४ को नोभेम्बर २ तारिखमा, युरोपको उत्तर म्यासेडोनियामा सम्पन्न UIMLA को २०औं साधारण सभामा, नेपालले सर्वसम्मत भोट प्राप्त गरी अन्तर्राष्ट्रिय मान्यता हासिल गर्यो। यस उपलब्धिलाई नेपालको पर्वतीय पर्यटन उद्योगमा जानकारी दिनका लागि, नेपाल पर्वतारोहण संघले फागुन १५ गते बिहान ११:०० बजे काठमाडौंको नक्सालस्थित होटल अरन्या बुटिकमा एक घोषणासभा आयोजना गर्दैछ। यस अवसरमा, संघले सञ्चालन गर्ने विभिन्न तालिमहरूको पाठ्यक्रम प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट स्वीकृत भएको जानकारी पनि सार्वजनिक गरिनेछ।
NMLA का अध्यक्ष दावा टासी शेर्पाले भने, “यो मान्यता प्राप्ति पर्वतीय र पदयात्रा पर्यटनको क्षेत्रमा महत्वपूर्ण कदम हो, जसले प्रशिक्षित लिडरहरूको संख्या वृद्धि गर्दै नेपालको पर्यटन क्षेत्रलाई सुदृढ बनाउनेछ।”