एडिबीका नयाँ अध्यक्ष मासातो कान्दाद्वारा पदभार ग्रहण

फिलिपिन्स । एसियाली विकास बैंक (एडिबी) का ११औं अध्यक्ष मासातो कान्दाले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । ‘हाम्रो क्षेत्रका लागि महत्वपूर्ण क्षणमा एडिबी अध्यक्षको भूमिका सम्हाल्दै गर्दा मैंले अत्यन्तै गौरवान्वित महसुष गरिरहेको छु,’ कान्दाले भने, ‘६९ सदस्यहरूको विश्वास, समर्पित कर्मचारीहरूको सुदृढ समर्थनले म एडिबीको दिगो, समावेशी र उत्थानशील विकासलाई प्रवद्र्धन गर्ने कार्यभार अघि बढाउन प्रतिबद्ध रहेको छु । विकासका चुनौतीहरूलाई आपसमा मिलेर सामना गर्दै एडिबीलाई उत्कृष्ट क्षेत्रीय साझेदारको रूपमा कायम राख्नेछौं ।’

कान्दाले मासात्सुगु आसाकावाको उत्तराधिकारीका रूपमा उत्कृष्टता र नवप्रवर्तनको विरासतलाई निरन्तरता दिनुहुनेछ । अन्तर्राष्ट्रिय वित्त र विकास नीतिका सम्बन्धमा करिब चार दशक लामो अनुभव हासिल गरेका कान्दा दूरदर्शी नेतृत्व क्षमता तथा बजारको तीव्र उतारचढावको समयमा लिइएका निर्णयक हस्तक्षेपका लागि परिचित छन् । जापानको अन्तर्राष्ट्रिय मामिलासम्बन्धी वित्त उपमन्त्रीको कार्यकालमा उहाँले नवप्रवर्तित वित्तीय उपकरणहरू एवं नीतिगत कदमहरू समन्वय गरी बजारलाई स्थायित्व प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

मासातो कान्दाले एडिबीमा भरपुर अनुभव र नयाँ दृष्टिकोण प्रस्तुत गर्नेछन् । जटिल वित्तीय चुनौतीहरूलाई पार लगाउँदै अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने उनको प्रमाणित पृष्ठभूमिले उनलाई हाम्रो सशक्ततामा आधारित उदयमान अवसरहरू उपयोग गर्न मार्गदर्शन गर्ने आदर्श नेतृत्वका रूपमा स्थापित गर्नेछ । एडिबी बोर्ड अफ गभर्नर्सका अध्यक्ष फाबियो पानिताले भने, ‘उहाँको नेतृत्वमा एडिबीले हाम्रा विकासशील सदस्य राष्ट्रहरूका लागि लक्षित र प्रभावकारी समाधानहरू प्रदान गर्नेछ भन्नेमा म विश्वस्त छु ।’ ‘म हाम्रो संस्थाभित्रको सामूहिक विशेषज्ञतालाई उपयोग गर्न र साझेदारहरूसँग मिलेर सबैभन्दा बढी आवश्यकता (अप्ठ्यारो)मा रहेकाहरूका लागि रूपान्तरणकारी परिवर्तन गर्न तत्पर छु,’ आफ्नो नियुक्तिबारे प्रतिक्रिया दिदैं कान्दाले भने, ‘हाम्रो सहयोगले एसिया तथा प्रशान्त क्षेत्रका मानिसहरूको जीवनमा स्थायी सुधार ल्याउने सुनिश्चितता सहित वास्तविक परिणाम ल्याउने व्यवहारिक कदमहरूमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।’

कान्दाको नियुक्तिले एडिबीको जारी उद्विकास र यसका विकासशील सदस्य राष्ट्रहरूको गतिशील आवश्यकताहरू पूरा गर्ने प्रतिवद्धतालाई पुष्टी गर्दछ । बैंक रणनीतिक विकासको चरणमा प्रवेश गर्दैगर्दा उहाँको नेतृत्वले एडिबीको मजबुत विरासतलाई सुदृढ गर्दै भविष्यका अवसर र चुनौतीहरूको सम्बोधन गर्न संस्थालाई सक्षम बनाउनेछ । एडिबी बोर्ड अफ गभर्नर्सले कान्दालाई सर्वसम्मत रूपमा चयन गरेको छ, जसले उल्लेख्य परिवर्तनको यस महत्वपूर्ण समयमा नेतृत्व प्रदान गर्न योग्य व्यक्तिका रूपमा उहाँप्रति बोर्डको विश्वासलाई प्रतिबिम्बित गर्दछ ।

एडिबीले तीव्र रूपमा परिवर्तित विश्वव्यापी परिदृश्यलाई आत्मसात् गरिरहेको समयमा जटिल आर्थिक नीतिहरू व्यवस्थापन गर्ने उहाँको बृहद् अनुभव एवं बहुपक्षीय परिवेशको व्यवहारिक अनुभव अमूल्य हुनेछ । एडिबी एसिया तथा प्रशान्त क्षेत्रमा दिगो, समावेशी र उत्थानशील विकासका लागि सहयोग गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो । यसका सदस्य तथा साझेदारहरूसँग मिलेर जटिल चुनौतीरू समाधानका लागि काम गरिरहेको एडिबीले जनजीविकामा रूपान्तरण, गुणस्तरीय पूर्वाधार निर्माण र पृथ्वीलाई जोगाउनका लागि नवप्रवर्तित वित्तीय औजारहरू एवं रणनीतिक साझेदारीको उपयोग/परिचालन गर्दछ । सन् १९६६ मा स्थापना भएको एडीबीमा ६९ सदस्यहरूको स्वामित्व रहेको छ र ती मध्ये ४९ एसिया तथा प्रशान्त क्षेत्रमा अवस्थित छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार