व्यावसायिक माहुरीपालन फस्टाउँदै

रामेछाप । जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरूमा माहुरीपालन गर्नेको सङ्ख्या बढ्दै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएका छन् ।
कम लगानीमा बढी आम्दानी हुने भएपछि यहाँका कृषक माहुरीपालनतर्फ आकर्षित भएका हुन् । सुख्खा ठाउँमा पनि माहुरीपालन गर्न सकिने भएकाले धेरैको रोजाइमा परेको छ ।

विशेषगरी सेरेना जातका माहुरीले प्रायः दुई/तीन महिनामै मह उत्पादन गर्ने भएकाले मह बिक्रीबाट आम्दानी लिन सजिलो हुने कृषक बताउँछन् । लामो समयसम्म रोजगारीको सिलसिलामा सहर बसेर फर्किनुभएका रामेछाप नगरपालिका–७ सुकाजोरका स्थानीय कृष्णबहादुर तामाङले गाउँमै केही गर्ने अठोटका साथ माहुरीपालन गरेका छन् ।

अवसरको खोजी गर्ने क्रममा अन्तिममा माहुरीपालन सहज लागेकोले आफू यस प्रति सन्तुष्ट रहेको उनको भनाइ छ । अहिले मह प्रतिकिलो एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ । एक सिजनमा एउटा घार बाट तीन केजीसम्म मह उत्पादन हुन्छ । एक वर्षमा चार पटकसम्म मह काढ्ने गरेको तामाङको भनाइ छ ।

मन्थली नगरपालिका–१ का चन्द्रबहादुर मानन्धरले दुई/तीन वर्षमै माहुरीपालन विस्तार गरी २० घार बनाएका छन् । उनले हाल दुई सय किलोभन्दा बढी मह बिक्री गरिसकेका छन् । सुरुमा माहुरीपालनसम्बन्धि कुनै ज्ञान नभए पनि छोटो अवधिको तालिम लिएर सुरु गरेकाले अहिले राम्रै आम्दानी गरेको उनले बताए । उनले भने, ‘विषेशगरी तोरी फुलेका बेलामा माहुरीको मह चाँडो चाँडो काढ्न सकिन्छ । माहुरीको चरन क्षेत्र भनेको फूलबारी र तोरीबारी हो ।’ माहुरीपालन गर्ने कृषकले मह मात्र नभई माहुरी सहितको घारसमेत बिक्री गर्ने गरेका छन् । सेरेना जातको माहुरीसहितको घार प्रतिगोटा रु १० हजारसम्ममा बिक्री हुने कृषक बताउँछन् ।

मन्थलीमा सदावहार बहुउद्देश्यीय सहकारी संस्थाले पनि माहुरीपालन सुरु गरेको छ । छोटो तालिम पश्चात् सुरु गरेको माहुरीपालनबाट प्रतिकिलो एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म गाउँघरमै मह बिक्री गर्ने गरेको सुनापति माहुरीपालन फार्मका सञ्चालक एवं खनियापानीका लालबहादुर मानन्धरले बताए ।

उनले सेरेना र मेरीफेरा गरी दुई जातका माहुरीबाट एक सिजनमा एक सयदेखि एक सय पचास किलोसम्म मह उत्पादन गर्दै आएका छन् । खनियापनीस्थित रूपाकोटका १८ जनाले पनि व्यावसायिक माहुरीपालन गरेका छन् । रूपाकोट माहुरीपालन कृषक समूहले ५३ घार एकै ठाउँमा माहुरीपालन गरेका छन् । खनियापानीमा मात्र पाँच सय घार माहुरीपालन गरिएको छ ।

महुरीपालनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि विगतदेखि अनुदान स्वरूप सहयोग गर्दै आइरहेको छ । उक्त सहयोग चालु आर्थिक वर्षमा पनि गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी सूचना अधिकारी बिनिषा श्रेष्ठले जानकारी दिइन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार