काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटमा अष्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै विजयी शुरुवात गरेको छ । समूह ‘बी’ को हिजो भएको खेलमा अस्ट्रेलिया पाँच विकेटले विजयी भयो ।
पाकिस्तानको लाहोरमा भएको खेलमा ३५२ रनको लक्ष्य अष्ट्रेलियाले ४७ ओभर ३ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका जोस इंग्लिसले १२० रन जोडे । एलेक्स केरीले ६९ र माथ्यु शर्टले ६३ रन जोडे । इङ्ग्ल्याण्डका आदिल राशिद, मार्क वुड, बायडेन कार्स, लियम लिभिङ्स्टोन र जोफ्रा आर्चरले समान एक÷एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३५१ रन बनाएको थियो । इङ्ग्ल्याण्डका बेन डकेटले सर्वाधिक १६५ रन जोडे । उनले च्याम्पियन्स ट्रफीको इतिहासमा व्यक्तिगत सर्वाधिक रन बनाए । जो रुटले ६८ रनको अर्धशतकीय पारी खेले । अस्ट्रेलियाका बेन ड्वारशुइसले तीन, मार्नुस लाबुशेन र एडम जाम्पाले समान दुई/दुई विकेट लिए ।
च्याम्पियन्स ट्रफीमा पाकिस्तान, भारत, बङ्गलादेश तथा न्यूजिल्याण्ड समूह ‘ए’ मा छन् । अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् । आज समूह ‘ए’ का भारत र पाकिस्तानबीच दुबईमा खेल हुँदैछ ।