काठमाडौं । सेयर बजार परिसूचक लगातार दोस्रो दिन पनि बढेको छ । अघिल्लो दिन पनि उच्च अंकले बढेको सेयर बजार आज पनि उच्च अंकले नै बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २९ दशमलव ८७ अंकले बढेर २७२७ दशमलव ९१ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.१० प्रतिशतले बढी हो । आज सेयर बजारमा १६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव २७ अंकले बढेर ४५९ दशमलव ६९ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य बढेको छ भने ३ वटाको सेयर मूल्य घटेको छ । परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिन ९ अर्ब ४७ करोड माथिको कारोबार भएको बजारमा आज १० अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३०२ कम्पनीका १ करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर १ लाख २ हजार ८६१ पटक खरिद बिक्री हुँदा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार ८३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बजारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
६ कम्पनीमा सकारात्मक सर्किट
सोमबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६६ कम्पनीको सेयर मूल्य बढेको दिन ६ कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आज विन नेपाल लघुवित्त, गुराँश लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रोलाइफ र दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो । आज यी ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज विन नेपाल लघुवित्तको सेयर २७९ रुपैयाँ ६० पैसाले बढेर ३ हजार २७३ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै आज गुराँश लघुवित्तको सेयर मुल्य २६१ रुपैयाँ ९० पैसाले बढेर २ हजार ८८१ रुपैयाँ पुगेको छ ।
त्यस्तै सोमबारको कारोबार बन्द हुँदा कुथेली बुखरीको सेयर मूल्य २४८ रुपैयाँले बढेर २ हजार ७२८ रुपैयाँ पुगेको छ । आजको कारोबार बन्द हुँदा एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ७६ रुपैयाँ २० पैसाले बढेर ८३८ रुपैयाँ २० पैसा पुगेको छ । आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य ५३ रुपैयाँ ३० पैसाले बढेर ५८६ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै दिव्यश्वरी हाइड्रोको सेयर मूल्य पनि ३२ रुपैयाँ ५० पैसाले बढेर ३५७ रुपैयाँ ५० पैसा पुगेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट
सोमबार सेयर बजार उच्च अंकले बढेको दिन एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा ७४ कम्पनीको सेयर मूल्य घटेको दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य १४० रुपैयाँ ९० पैसाले घटेर १ हजार २६८ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा कुमारी सफल योजना, सेन्ट्रेल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र बेष्ट फाइनान्स रहेका छन् ।
कुमारी सबल योजनाको सेयर मूल्य ६ प्रतिशत अर्थात् ०.५९ रुपैयाँले घटेर ९.२४ रुपैयाँ पुगेको छ । त्यस्तै आज सेन्ट्रल फाइनान्सको सेयर ३० रुपैयाँले घटेर ६२७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.५७ प्रतिशतले कम हो ।
आजको कारोबार बन्द हुँदा ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ६५ रुपैयाँले घटेर १ हजार ४७० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.२३ प्रतिशतले कम हो । आज बेष्ट फाइनान्सको सेयर मूल्य पनि ३.८६ प्रतिशत अर्थात् २६ रुपैयाँ ८० पैसाले घटेर ६६८ रुपैयाँ पुगेको छ ।