काठमाडौं । कप्तान मोहम्मद रिजवान र उप–कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि सन् २०२३ मा घरेलु मैदान लाहोरमै अष्ट्रेलियाविरुद्ध ३ सय ४९ रनको लक्ष्य पूरा गरेको थियो ।
पाकिस्तानको जितमा सलमान अघाले १ सय ३ बलमा १६ चौका र २ छक्कासहित १ सय ३४ रनको शतकीेय इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए । उनले ओडीआईमा पहिलो शतक हानेका हुन् । लुंगी एनगिडीको ४९ औं ओभरको पाँचौं बलमा एज लागेको अपिलमा दक्षिण अफ्रिका सफल भएपछि सलमान अविजित फर्किन पाएनन् । उनी आउट हुँदा जित्नलाई २ रन आवश्यक हुँदा तयाब ताहिरले चौका हान्दै खेल सकाए ।
कप्तान मोहम्मद रिजवान १ सय २८ बलमा ९ चौका र ३ छक्कासहित १ सय २२ रनमा अविजित रहे । एक समय १०.४ ओभरमा ९१–३ को अवस्थामा पुगेको पाकिस्तानलाई चौथो विकेटका लागि रिजवान र सलमानले २ सय २९ बलमा २ सय ६० रनको साझेदारी गरेका थिए ।
यो पाकिस्तानी ब्याटरले ओडीआईमा चौथो विकेटलाई गरेको उच्च साझेदारी हो । यसअघि चौथो विकेटलाई सन् २००९ मा सोएब मलिक र मोहम्मद युसुफले भारतविरुद्ध २ सय ६ रनको साझेदारी गरेका थिए । पाकिस्तान ओडीआई इतिहासकै यो तेस्रो ठूलो साझेदारी हो । यसअघि ओपनर फखार जमान र इमाम उल हकको २०१८ मा जिम्बावेविरुद्ध ३ सय ४ तथा सन् १९९४ मा न्युजिल्यान्डविरुद्ध इन्जामाम उल हक र अमर सोहेलले दोस्रो विकेटलाई २ सय ६३ रनको साझेदारी गरेका थिए ।
ओपनर फखार जमान २८ बलमा ६ चौका र १ छक्कासहित ४१, बाबर आजम १९ बलमा ४ चौकासहित २३ र साउद सकिल १५ रनमा आउट भए । दक्षिण अफ्रिकाका वियान मुल्डरले २, लुंगी एनगिडी र कोब्रिन बोचले १–१ विकेट लिए । त्यसअघि कराँचीमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो । युवा ब्याटर म्याथ्यु ब्रिट्ज्कीले ८४ बलमा १० चौका र १ छक्कासहित ८३ रन बनाए ।
उनले न्युल्यिान्डविरुद्ध डेब्यू खेलमै १ सय ५० रनको शतकीय इनिङ खेलेका थिए । हेनरिक क्लासेनले ५६ बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक ८७ रन जोडे । कप्तान टेम्बा बभुमा ९६ बलमा १३ चौकासहित ८२, टोनी डी जोर्जी २२, काइल भेरेभन ४४ रनमा आउट भए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले २, नसिम साह र खुसदील शाहले १–१ विकेट लिए । फाइनलमा शुक्रबार न्युजिल्यान्ड र पाकिस्तान भिड्नेछन् । न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ६ विकेट र पाकिस्तानलाई ७८ रनले हराएको थियो । अर्को सातादेखि सुरु हुने च्याम्पियन्स ट्रफी अघि अन्तिम तयारीको रुपमा यी तीन टोलीले यस सिरिज खेलेका हुन् ।