काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको छ । तीन जनाको मत्यु भएको बताए पनि प्रहरीले मृतक विद्यार्थीहरुको विवरण भने सार्वजनिक गरको छैन ।
जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले तीन जनाको मृत्यु भएको पुष्टि गरे । एनएमसी अस्पतालमा एक, शंकरापुर अस्पतालमा एक र टिचिङ अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको छ ।
चाबहिलको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकला लागि बा २ ख ७९५८ नम्बरको बस नगरकोट गएको थियो । फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो । सिन्धुपाल्चोकको चौतारा घर भएका ३९ वर्षीय मनिष माझीले उक्त बस चलाएका थिए ।
दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइते मध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ३ जनाको उपचार भइरहेको छ ।