काठमाडौं । अर्जन ट्रफीको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । फ्रेन्डस् युथ क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो ।
अत्तरियाले दिएको ११९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा अलआउट भयो । डडेल्धुराका लागि गजेन्द्र बोहोराले २४ रन र कुशल भुर्तेलले २० बनाए । अत्तरियाका शाहब आलमले ३ विकेट लिए । यस्तै दिपेश कँडेल, कमल गुप्ता र विवेक यादवले समान २–२ विकेट लिए ।
त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अत्तरियाले ९ विकेट गुमाएर ११८ रन बनायो । अत्तरियाका लागि रशिद खानले अविजित ३१ रन बनाए । यस्तै सन्तोष कार्की र शंकर रानाले समान २०–२० रन बनाए । डडेलधुराका अभिषेक गौतमले ४ विकेट लिए । यस्तै कुशल भुर्तेल र अजय चौहानले समान १–१ विकेट लिए ।
अत्तरिया डीसीए धनगढीलाई र डडेल्धुरा न्यू होराइजन बुटवललाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका थिए । प्रतियोगिताको विजेता अत्तरियाले १० लाख र उपविजेता बनेको डडेल्धुराले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।