काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिमो भन्दा ५१.७० प्रतिशतले नाफा बढेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २३ करोड ९ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको कुल आम्दानी ३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीको यस्तो आम्दानी २ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै, समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन २ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । गत आवमा यस्तो शुल्क आर्जन १ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा चालु आवमा उक्त बीमाकोषको आकार ३५.७९ प्रतिशतले बढेर ११ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहको छ । कम्पनीले दोस्रो त्रैमाससम्म सेयर प्रिमियममा १ अर्ब ७५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँ सञ्चित गरेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५५ पैसा रहेकोमा चालु आवमा बढेर १५ रुपैयाँ १० पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ६६ पैसा रहेको छ ।