काठमाडौं । साताको तेस्रो दिनको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्ला दुई दिन बढेको बजार आज १४ दशमलव ०८ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १४ दशमलव ०८ अंकले घटेर २७१५ दशमलव ९१ विन्दुमा पुगेको छ । अघिल्लो दिन सेयर बजार सामान्य अंकले बढेको थियो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६२ कम्पनीको सेयर मूल्य घटेको छ भने ७१ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४९ अंकले घटेर ४५७ दशमलव १२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये दुई वटा बाहेक सबैको सेयर मूल्य घटेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिन ११ अर्ब ८७ करोड माथिको कारोबार भएको बजारमा आज ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा ३१५ कम्पनीका १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयर ९० हजार २०२ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
जोशी हाइड्रोपावरमा सकारात्मक सर्किट
मंगलबारको सेयर कारोबार बन्द हुँदा एक कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज यो कम्पनीको सेयर मूल्य ४१ रुपैयाँले बढेर ४५१ रुपैयाँ ८० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो । यो बाहेक आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा सामुदायिक लघुवित्त, मध्यभोटेकोशी जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर र उपकार लघुवित्त वित्तीय संस्था रहेका छन् ।
आजको कारोबार बन्द हुँदा सामुदायिक लघुवित्तको सेयर मूल्य २३० रुपैयाँले बढेर ३ हजार पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.३० प्रतिशतले धेरै हो । त्यस्तै आज मध्यभोटेकोशीको सेयर मूल्य पनि ८.२५ प्रतिशत अर्थात् ३० रुपैयाँ ५० पैसाले बढेर ४०० रुपैयाँ पुगेको छ ।
मंगलबारको कारोबार बन्द हुँदा न्यादी हाइड्रोको सेयर मूल्य ६२ रुपैयाँ ६० पैसाले बढेर ८२७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.१९ प्रतिशतले धेरै हो । आज उपकार लघुवित्तको सेयर मूल्य पनि ८.१२ प्रतिशत अर्थात् ४५० रुपैयाँ ५० पैसाले बढेर ६ हजार रुपैयाँ पुगेको छ ।
४ विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट
त्यस्तै आज ४ वटा विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । आजको कारोबार बन्द हुँदा कर्पोरेटको सेयर मूल्य १० प्रतिशत अर्थात् २७४ रुपैयाँ ९० पैसाले घटेर २ हजार ४७४ रुपैयाँ १० पैसा पुगेको छ ।
त्यस्तै आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य १८० रुपैयाँ १० पैसाले घटेर १ हजार ६२१ रुपैयाँ २० पैसा पुगेको छ । यो पनि अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज सिन्धु विकास बैंकको सेयर मूल्य पनि १० प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मुल्य आज १२१ रुपैयाँ ३० पैसाले घटेर १ हजार ९१ रुपैयाँ ७० पैसा पुगेको छ ।
त्यस्तै आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य आज १३८ रुपैयाँ ९० पैसाले घटेर १ हजार २५१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले कम हो । आज धौलागिरी लघुवित्तको सेयर मूल्य ९० रुपैयाँले घटेर १ हजार ७९६ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.७७ प्रतिशतले कम हो ।