बजेट खर्च बढाउने गरी काम गर्न प्रदेश प्रमुखको आग्रह

सुर्खेत । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीमा बजेट खर्च बढाउने गरी काम गर्न सुझाव दिएका छन् । कर्णाली प्रदेशसभाको सातौँ स्थापना दिवस–२०८१ को अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले लक्ष्यअनुसार चालु आर्थिक वर्षको बजेट खर्च खर्च गर्न सबै निकाय गम्भीर भएर लाग्न उनले आग्रह गरेका हुन् ।

‘बजेट खर्च किन हुन सक्दैन । यस विषयमा बेलैमा ध्यान दिउँ र यहाँको विकासमा निम्ति सबै एकजुट भएर लागौँ । पर्याप्त स्रोतसाधन छैन तर भएकै स्रोत पनि खर्च गर्न सक्दैनन् भनेर प्रश्न उठ्न दिनुहुँदैन’, प्रदेश प्रमुख जोशीले भने । उनले विकास सबैको साझा मुद्दा भएकाले एकताबद्ध भई जाँगरका साथ अगाडि बढे परिवर्तनको अनुभूति गराउन सकिने धारणा राखे । ‘यहाँ थुप्रै सम्भावना छन् । पेट्रोलियम पदार्थको सम्भावनाका बारेमा पनि चर्चा भइरहेको छ । यसर्थ यी सबै सम्भावनालाई साकार गर्न सबै दल, कर्मचारी र सरोकार भएकाहरू दत्तचित्त भएर लाग्नुपर्छ’, प्रदेश प्रमुख जोशीले भने ।

प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कानुनी दायित्व सिर्जना भएका आयोजनामा प्रदेश सरकारले चालु आवमा ७० प्रतिशत बजेट विनियोजन गरेको बताए । विगतका काममा ढिलाई गरेका केही निर्माण व्यवसायीबाहेक सबै सम्पर्कमा आएर काम अगाडि  बढाइएको उनले जानकारी दिए । मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले बजेट कार्यान्वयनलाई प्राथमितामा राखेर योजना अगाडि बढाएको बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजकुमार शर्माले नेपाली जनताको त्याग र सङ्घर्षबाट प्राप्त संविधान र व्यवस्था कार्यान्वयनका लागि पनि साझा बुझाई आवश्यक भएको बताए । समन्वयात्मक प्रणालीअनुसार संघीयता कार्यान्वयन गर्ने भनिए पनि केन्द्रीकृत मानसिकताले प्रदेश सरकार प्रभावित हुँदा अपेक्षित गति नदेखिएको उनको भनाइ थियो ।

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ र उपसभामुख यशोदा न्यौपाने प्रदेशसभाका सात वर्षमा भएका गतिविधि, सरकार, सदनबीच सम्बन्ध र उपलब्धिका विषयमा आफ्नो भनाइ राखे । प्रदेश सकारका मन्त्रीहरू, प्रदेशसभा सदस्य, उच्च अदालत सुर्खेतका वरिष्ठ न्यायाधीश कृष्णलाल भट्टराई, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्याललगायत सहभागी कार्यक्रम प्रदेशसभाको स्मारिका विमोचन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार