६ महिनामा साढे ७ खर्ब रुपैयाँ रेमिट्यान्स् भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएकाहरुबाट साढे ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक अवस्थामा चालु आव २०८१÷८२ पहिलो ६ महिना (साउन–पुस) अवधिमा ७ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको हो ।

केन्द्रीय बैंकका अनुसार पुस महिनामा मात्र १ खर्ब २२ अर्ब रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा औसत १ खर्ब माथि रेमिट्यान्स आएको देखिन्छ । यस वर्ष रेमिट्यान्स आप्रवाहमा ४.१ प्रतिशतको मात्र वृद्धि देखिन्छ । अघिल्लो वर्षको यसै अवधिमा रेमिट्यान्स २२.२ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स १.१ प्रतिशतले सुधार भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा रेमिट्यान्स १९.५ प्रतिशतले बढेको थियो । यस वर्ष वैदेशिक रोजगारीमा जाने युवा संख्यामा भने सुधार देखिएको छ । यस वर्ष ६ महिनामा नयाँ श्रम स्वीकृति (संस्थागत÷व्यक्तिगत) लिने नेपालीको संख्या २ लाख ३० हजार ४ सय ३९ र पुनः श्रम स्वीकृति (संस्थागत÷व्यक्तिगत) लिनेको संख्या १ लाख ६२ हजार ६ सय २८ रहेको छ ।

अघिल्लो वर्ष यसै अवधिमा यो संख्या क्रमशः २ लाख ६ हजार ३ सय ९० र १ लाख ३३ हजार ९ सय ४० थियो । ६ महिनामा खुद द्वितीय आय (ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार