निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि

बाँके । पश्चिम नेपालमा सबैभन्दा बढी बाघ रहेको निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ लगायतका गैंडा, हात्ती र अन्य वन्यजन्तु हेर्न आउने पर्यटकको संख्या बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा त्यहाँ आउने पर्यटकको संख्यामा ११ प्रतिशतले वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार बाघ अवलोकनका लागि प्रख्यात मानिने सो निकुञ्जमा अघिल्लो आर्थिक वर्ष २०७९/८० को भन्दा गत आर्थिक वर्ष २०८०–८१ मा एक हजार ८०७ जना पर्यटक बढी आएका थिए । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार सो निकुञ्जमा अघिल्लो आर्थिक बर्ष २०७९/८० मा १६ हजार ७२२ नेपाली, ६ हजार ३८३ विदेशी र एक हजार २१९ सार्क मुलुकका नागरिकहरूले निकुञ्ज भ्रमण गरेका थिए । गत आर्थिक बर्ष २०८०/८१ मा १८ हजार १० जना नेपाली, छ हजार ६८४ जना विदेशी र एक  हजार ४३७ जना सार्क मुलुकका गरी २६ हजार १३१ जना पर्यटकहरू निकुञ्ज घुम्न आएका थिए ।

निकुञ्जमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाली, विदेशी र सार्क मुलुकका पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको थियो । उनले बर्दिया राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी राजस्व संकलन पर्यापर्यटनबाट हुने गरेको तथ्यांकले पुष्टि गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी दुई करोड ८४ लाख चार हजार ५०० रुपियाँ पर्यापर्यटनबाट संकलन भएको बताए । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा पनि पर्यटकहरूको संख्यामा वृद्धि हुने देखिएको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

गत वर्षहरूको तुलनामा पर्यटकहरू र उहाँहरूबाट संकलन हुने राजस्व दुबैमा वृद्धि भएको पाइएको छ । नेपालीहरू पनि पर्यटकीय क्षेत्र घुम्नका लागि आउनेक्रम बढेको निकुञ्जले जनाएको छ । सहजै बाघ हेर्न सकिने भएको हुनाले पर्यटकहरू बर्दिया राष्ट्रिय निकुञ्ज आउने गरेको जनाइएको छ । क्रमशः पर्यटकहरूको वृद्धि हुन थालेसँगै बर्दियाका पर्यटन व्यवसायीहरू पनि उत्साहित भएका छन् । कोरोनापछि सुस्ताएको पर्यटन व्यवसाय पुनः तँग्रिदै गएको पर्यटन व्यवसायी मोहन चौधरीले बताए । निकुञ्ज घुम्न आएका पर्यटकहरूमध्ये अधिकांशले प्राकृतिक रूपमै बाघ हेरेर फर्कने गरेको उनको भनाइ छ ।

बाघ लगायत जंगली हात्ती, गैँडा, चितुवा, चित्तल, बाह्रसिङ्गा लगायतका जंगली जनावर सहजै र एकै दिनमा हेर्न सकिने भएको हुनाले पनि बर्दिया राष्ट्रिय निकुञ्ज स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । सो निकुञ्जमा १२५ वटा बाघ रहेका छन् । पाटेबाघ, एकसिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिंगा र जंगली हात्ती लगायतका ६१ प्रजातिका स्तनधारी वन्यजन्तु, ४२ भन्दा बढी प्रजातिका घस्रने वन्यजन्तु र ५१३ रैथानेसहित बसाइँसराई गरी आउने चराहरु रहेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार