काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । लघवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नाफामा सुधार देखिएको हो ।
वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १४.९७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आवको पुस मसान्तसम्मको अवधिमा १ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा १ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चालु आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफा बढ्न टेवा पुगेको हो । सञ्चालन नाफा गत आवमा १ करोड ५३ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर १ करोड ७६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा ५ करोड २५ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर ७ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४ करोड रुपैयाँ र सञ्चित मुनाफा ८३ लाख रुपैयाँ रहेको छ । कम्पनीले १ अर्ब ६२ करोड रुपैयाँ सापटी लिएर ४७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेकोमा चालु आवमा बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ०८ पैसा र खराब कर्जा ४.१३ प्रतिशत रहेको छ ।