काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आईपीओमा आजदेखि आवेदन खुला भएको छ । कम्पनीले पहिलो चरणमा आज माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि बिक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत हिस्सा पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति पाएको छ ।
यसमा १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपैयाँ बराबरका २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले खरिद गर्न पाउनेछन् । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यो शेयर खरिद गर्न सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बिक्रीपछि बाँकी रहेको खण्डमा सो समेत जोडेर दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गरिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पहिलो चरणको आईपीओ खरिदका लागि माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। प्रतिकित्ता शेयरको मूल्य १०० रुपैयाँ तोकिएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।