काठमाडौं । हिमालयन बैंक लिमिटेडको नाफा सामान्य वृद्धि भएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ०.९८ प्रतिशतले मात्रै बढेको हो ।
विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.०४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.१२ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.०३ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ९४ करोडबाट घटेर १८ करोड ४६ लाख रुपैयाँमा झरेको छ । जसका कारण बैंकको सञ्चालन मुनाफा ४१.२२ प्रतिशत बढेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ पैसा बढेर १४ रुपैयाँ ३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.६८ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ९५ करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब ४८ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले २ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।