बाटोको दुर्दशाले चितवनमा घटे पर्यटक

चितवन । सडक निर्माणमा भइरहेको ढिलासुस्तीले सौराहाको पर्यटन व्यवसायमा प्रभाव पारेको छ । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा आउने पर्यटक घट्दै गएको व्यवसायीको दाबी छ । ‘क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षका अवसरमा समेत यस वर्ष सौराहामा त्यति पर्यटक देख्न पाइएन,’ क्षेत्रीय होटेल संघ सौराहाका महासचिव गुणराज थपलिया भने, ‘अघिल्ला वर्षमा भरिभराउ हुने सौराहा यस वर्ष ८० प्रतिशत अकुपेन्सी पुर्‍याउन पनि गाह्रो भयो ।’

अघिल्लो वर्ष आफूहरूले रुम पुर्‍याउन नसकेर पर्यटक फिर्ता गर्नु परेको अनुभव सुनाउँदै थपलियाले भने, ‘भिडभाड हुने दिनमै त खाली बस्नु पर्‍यो । अहिले त ४० प्रतिशत अकुपेन्सी पनि छैन ।’ सौराहामा १३० होटेलमा सात हजार पर्यटक राख्न सक्ने शय्या क्षमता छ । चितवनमा भने २४० वटा पर्यटकीय होटेलमा चार हजार आठ सय बेड संख्या रहेको छ तर पनि पर्यटकको आगमन नहुँदा होटेल रित्तारित्तै छन् । क्षेत्रीय होटेल संघका पूर्वअध्यक्ष सुमन घिमिरे आफूले पेसा अँगालेपछिको क्रिसमस र नयाँ वर्षमा सबैभन्दा कम पर्यटक यस वर्ष आएका बताए । देशभर आएको बाढीपहिरोको प्रभाव, सडक निर्माणमा भइरहेको ढिलासुस्तीका कारण गुणस्तरीय र खर्च गर्न सक्ने पर्यटक कम आएको उनको अनुभव छ । ‘पोखराबाट आउने सडक पृथ्वी राजमार्ग लामो समयदेखि बन्न नसकेको । काठमाडौँबाट आउने सडक पृथ्वी राजमार्गकै मुग्लिङ नौबिसे खण्ड पनि तत्काल बनिसक्ने सुरसार छैन । लुम्बिनी जाने सडक त भन्नै परेन । अनि लामो समय बस्ने र होटेलमा खर्च गर्ने पर्यटक कहाँबाट आउनु ?’, उनको प्रश्न छ ।

सौराहामा वन्यजन्तु (हात्ती) माथि चढेर वन्यजन्तु (बाघ, गैँडा जस्ता जनावर) हेर्न पर्यटक आउने गर्छन् । विशेषतः हात्ती सफारी, जिप सफारी, जङ्गल सफारी (पैदलयात्रा) डुङ्गा सफारी निकुञ्जका विशेषता हुन् । सडक सञ्जालका कारण पर्यटकको आगमनमा कमी आएको हो । व्यवसायी घिमिरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत सुधारका क्रममा रहेकाले नियमित उडान नहुँदा पनि समस्या भएको बताए ।

‘अहिले सौराहाको पर्यटनमा साह्रै समस्या छ । यसको समाधान नहुने हो भने व्यवसायी पलायन हुनुको विकल्प छैन,’ उनले भने । व्यवसायीले देशमा बढ्दै गएको आर्थिक मन्दीको मार पनि पर्यटन क्षेत्रमा परेको बताउँछन् । ‘अहिले पारिवारिक घुमघाम कम भएको अनुमान गर्न सकिन्छ,’ एक व्यवसायीले दुःखेसो पोखे । बाटो मर्मत सुधार तथा पुनर्निर्माणको काम समयमा सकिए पनि सौराहाको पर्यटन फर्काउन गारो नहुने घिमिरेको भनाइ छ । कतिपय ग्राहक पछिल्लो समय सौराहाका होटेल व्यवसायीमा देखिएको अस्वस्थ प्रतिस्पर्धा तथा महँगीले पनि पर्यटकको आगमनमा कमी आएको आरोप लाग्ने गरेको छ । सौराहाका व्यवसायी रामकुमार अर्याल भने पर्यटक ठगिएको भन्ने तर्क गलत भएको बताए ।

‘निकुञ्जभित्र प्रवेश गर्न प्रवेशाज्ञा पाउनै मुस्किल छ । अनि निकुञ्जभित्र जिप सफारीको रुट एउटै हुँदा पनि समस्या छ, किन पर्यटक आगमन नघटोस् ?’ उनको तर्क छ । सौराहा चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्त पर्यटकको सुविधाका लागि निकुञ्जभित्र देखिएका समस्या छलफल र वार्ताबाट समाधान गर्न सकिने बताउछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार