काठमाडौं । बढ्दो बसाँइसराइ र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.५५ प्रतिशतले घटेको उल्लेख छ ।
आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान छ। गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५.८८ प्रतिशत थियो । प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३२.८० प्रतिशत, उद्योग क्षेत्रको १६.३२ प्रतिशत र सेवा क्षेत्रको ५०.८८ प्रतिशत योगदान रहने अनुमान छ ।
कृषि भूमि घट्दा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसारलगायत बालीले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल कम भएको हो। कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफल मध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८७.९२ प्रतिशत, तरकारी बालीको ५.११ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल ६.९७ प्रतिशत छ। कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ, र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१.६४ प्रतिशत छ। आव २०८०/८१ मा यो प्रदेशमा समग्र कृषि बालीको उत्पादन १.१३ प्रतिशतले वृद्धि भएको छ ।
विशेष गरी खाद्य बाली अन्तर्गत धान सात.४५ प्रतिशत तथा कोदो ०.८६ प्रतिशतले वृद्धि भएकाले समग्र कृषि बालीको उत्पादन वृद्धि भएको देखिन्छ। अघिल्लो आर्थिक वर्षको तुलनामा तरकारीको उत्पादन १.९८ प्रतिशत, चियाको उत्पादन शून्य.शून्य एक प्रतिशत, कफीको उत्पादन १.२३ प्रतिशत तथा महको उत्पादन ०.२८ प्रतिशतले बढेको छ भने फलफूलको उत्पादन ०.९४ प्रतिशत र मसलाको उत्पादन आठ.शून्य तीन प्रतिशतले घटेको छ ।
आव २०८०/८१ मा यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ३७.३ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३६.७४ प्रतिशत रहेको थियो । कोशी प्रदेशमा कुल सिञ्चित क्षेत्रफल १.५२ प्रतिशतले विस्तार भएको छ। त्यसैगरी दूध उत्पादन १९.९३ प्रतिशत, मासु उत्पादन दुई.३० प्रतिशत तथा माछा उत्पादन एक.२१ प्रतिशतले वृद्धि भएको छ । अण्डा उत्पादन १.७३ प्रतिशत तथा ऊनको उत्पादन ६.४३ प्रतिशतले घटेको छ ।
यसैगरी, काठको उत्पादन १५.२९ प्रतिशतले वृद्धि भएको छ। २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा २.१० प्रतिशतले घटेर ५९ अर्ब ९० करोड ७४ लाख ४१ हजार रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश १०.१२ प्रतिशत छ। प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ५२.७ प्रतिशत छ। आव २०७९/८० मा उक्त उद्योगको औसत क्षमता उपयोग ५१.१ प्रतिशत थियो।
उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा टायर तथा ट्यूब उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९१.३ प्रतिशत छ भने वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४.४ प्रतिशत रहेको छ। अध्ययनमा समेटिएका उद्योगको उत्पादनमध्ये गार्मेन्ट उत्पादन सबैभन्दा बढी छ भने घरेलु धातुका सामानको उत्पादन ४५.७ प्रतिशतले घटेको छ।
प्रदेशका ४३ वटा उद्योगमा आव २०७९/८० मा १८ हजार ४६१ जना श्रमिक कार्यरत रहेकामा समीक्षा आर्थिक वर्षमा ती उद्योगमा जम्मा १६ हजार नौ सय ५८ श्रमिक कार्यरत छन् जुन गत वर्षको सोही अवधिको तुलनामा ८.१ प्रतिशतले कम हो। सुनसरी, मोरङ, इलाम, झापा र उदयपुरमा रहेका उद्योगमा श्रमिकले रोजगारी गुमाएका छन्। कुल औद्योगिक रोजगारीमध्ये ८३.२ प्रतिशत स्वदेशी र १६.८ प्रतिशत विदेशी कामदारले रोजगारी प्राप्त गरेका थिए। समीक्षा वर्षमा कुल औद्योगिक रोजगारीमा स्वदेशी र विदेशी कामदारको सहभागिता क्रमशः ९१ प्रतिशत र ९ प्रतिशत छ ।
केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कुल औद्योगिक कर्जा ८.११ प्रतिशतले वृद्धि भइ एक खर्ब ३९ अर्ब कायम भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा उक्त कर्जा छ.६४ प्रतिशतले वृद्धि भएको थियो। प्रदेशमा वाणिज्य बैंकका ७५४, विकास बैंकका १९५, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका ८५२ गरी जम्मा एक हजार ८३७ शाखा पुगेका छन्।
त्यसैगरी २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा सो प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १३.३८ प्रतिशतले वृद्धि भई चार खर्ब ७७ अर्ब र प्रवाह गरेको कर्जा ३.८१ प्रतिशतले वृद्धि भई पाँच खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ।